Logo
Logo

इरानमाथिको हमलाबारे अरू देशले के भने ?  


1k
Shares

काठमाडौं । अमेरिकी र इजरायलले इरानका विभिन्न सहरहरूमाथि गरेको आक्रमणलाई अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ठूलो सैन्य कारबाही’का भएको बताएका छन् । इजरायलले इरानलाई पहिला नै निस्तेज पार्न हमला गरिएको जनाएको छ ।

ट्रम्पले इरानका जनतालाई उठ्न र सरकारी फौजलाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् । उनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको दाबी गरेका छन् । इरानले आफ्ना सर्वोच्च नेता मारिएको पुष्टि गरेको छ र मुलुकमा ४० दिनका लागि शोक घोषणा गरिएको जनाएको छ ।

दुई देशले हमला गरेपछि इरानी रेभलूशनरी गार्ड कोर (आईआरजीसी) ले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शिविरहरूलाई निसाना बनाउँदै प्रत्याक्रमण गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सैन्य कारबाहीको निन्दा गरेका छन् र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको बेवास्ता भएको टिप्पणी गरेका छन् । ‘संयुक्त राज्य अमेरिका रइजरायलले इरानमाथि गरेका हमला र इरानले सो क्षेत्रमा गरेको प्रतिकारले अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षालाई बेवास्ता गरेको छ,’गुटेरसले एउटा वक्तव्यमा भनेका छन् । ‘म शत्रुता तथा तनाव तत्काल अन्त्य गर्न आह्वान गर्छु। त्यो गर्न विफल भएमा त्यसले नागरिक तथा क्षेत्रीय स्थिरतामा गम्भीर असर पु¥याउने गरी व्यापक क्षेत्रीय द्वन्द्वको जोखिम निम्त्याउने छ ।’

शनिवार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा अमेरिकी राजदूत माइक वाल्ट्जले आक्रमणहरू ‘निश्चित र रणनीतिक कुराहरूप्रति लक्षित’रहेको बताएका छन् । 

‘साझेदारहरूलाई खतरा निम्त्याउने क्षेप्यास्त्र सामथ्र्यलाई नष्ट गर्न, अन्तर्राष्ट्रिय जलक्षेत्रमा अस्थिरता निम्त्याउने जलसैनिक सामग्रीहरूलाई कमजोर पार्न र मिलिशिआहरूलाई अस्त्र उपलब्ध गराउने संयन्त्रलाई अवरुद्ध पार्न तथा परमाणुअस्त्रको कहिल्यै धम्की दिन नसक्ने इरानी सत्ता सुनिश्चित गर्न चाहिएको’ उनले दाबी रहेको छ । 

इजरायली राजदूत ड्यानी डेननले भनेः ‘संयुक्त राज्य अमेरिकासँग मिलेर इजराइलले आफ्नो, हाम्रा साझेदार र वैश्विक स्थिरताका लागि रहेको खतराविरुद्ध कदम चालेको छ ।’ जब सत्ताले ‘इजरायलको मृत्यु, अमेरिकाको मृत्यु होओस्’ भनी नारा लगाउँछ, तब हामी त्यसलाई गम्भीर रूपमा लिन्छौँ । हामी त्यसमा विश्वास गर्छौँ र कदम चाल्छौँ । हाम्रा उद्देश्यहरू स्पष्ट छन् ।’

रुसको प्रतिक्रिया

इरानको साझेदार रुसले अमेरिकी तथा इजराइली हमलाहरूको निन्दा गरेको छ । ‘इरानमाथि आज गरिएको हमलाको फलस्वरूप सो क्षेत्रमा तनाव चर्किएको छ र त्यसको असर उसका सीमाहरूभन्दा परसम्म पुग्ने छ,’ रुसी राजदूत भेसिली नेबेन्जिआले भने । यसअघि मस्कोले ‘मध्यपूर्वमा शान्ति, स्थिरता र सुरक्षालाई बेवास्ता गर्न लक्षित गैर जिम्मेवार कदमहरू’को समीक्षा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो ।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकी तथा इजराइली  हमलाहरू ‘पूर्णतः उक्साहटबिनाको, गैरकानुनी र अवैध’ भएको भन्दै आक्रोश पोखेका छन् ।

‘ट्रम्पले अमेरिका पहिला भन्ने नारालाई इजरेल पहिलामा परिणत गरेका छन्, जसको अर्थ अमेरिका सधैँ अन्त्यमा हो भन्ने हो,’ एक्समा अराग्चीले भनेका छन् ।

साउदी अरबले बहराइन, यूएई, कतार, जोर्डन र कुवेतमाथि इरानले गरेका हमलाहरूको कडा शब्दमा निन्दा गरेको छ । त्यसलाई उसले ‘ठाडो इरानी आक्रमण’ भनेको छ । 

अस्ट्रेलियाको अमेरिकालाई साथ 

अस्ट्रेलियाका प्रधानमन्त्रीले इरानलाई परमाणुअस्त्र हासिल गर्न र अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षालाई धम्की दिनबाट रोक्न अमेरिकाले चालेको कदमको आफ्नो देशले समर्थन गरेको बताएका छन्।

अरु देशले के भने ?

फ्रान्सका राष्ट्रपति, जर्मन चान्स्लर र यूकेका प्रधानमन्त्रीले एउटा संयुक्त वक्तव्यमार्फत् वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । 

‘परमाण’ तथा क्षेप्यास्त्र कार्यक्रम अन्त्य गर्न तथा अस्थिरता निम्त्याउने गतिविधिबाट पर रहन अनि आफ्नै नागरिकविरुद्ध भयावह हिंसा तथा दमन रोक्न आफूहरूले इरानको सत्तालाई निरन्तर आग्रह गर्दै आएको लन्डनस्थित जर्मन दूतावासले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा उल्लेख छ ।

‘हामी यी हमलाहरूमा संलग्न हुने छैनौँ,’ अमेरिका र इजरालसहित अन्तर्राष्ट्रिय साझेदारहरू तथा सो क्षेत्रका अरूसँग सम्पर्कमा रहेको तीन देशका नेताले भनेका छन् ।

युरोपेली सङ्घ ईयूकी उच्च कूटनीतिज्ञ काजा कालसले पछिल्ला विकासक्रमलाई ‘जोखिम’को सङ्ज्ञा दिएकी छन् ।

‘ईयूले इरानमाथि कडा प्रतिबन्धहरू लगाएको छ र परमाणुसहितका विषयमा कूटनीतिक हल खोज्नुपर्नेमा जोड दिँदै आएको छ,’ सामाजिक सञ्जाल एक्समा उनले भनेकी छन् ।  इटलीकी प्रधानमन्त्री जर्जिआ मेलोनीको कार्यालयले तनाव मत्थर पार्ने प्रयासलाई सघाउन उसले साझेदार तथा क्षेत्रीय नेताहरूसँग परामर्श गर्ने जनाएको छ । ब्रजिलको सरकारले अमेरिकी तथा इजराइली हमलाको एउटा वक्तव्यमार्फत् निन्दा गर्दै ‘गहिरो चिन्ता’व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्