काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले इतिहासमा जेनजी सहिदका आमाहरूले हार्नु नहुने बताएका छन् । आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै थापाले जेनजी सहिदका सपनाले हार्न नहुने बतए ।

“जेनजी आन्दोलनको नाममा यहाँ राजनीतिक दोकान खुलेका छन् । कसैले दोकान बढाएका छन् । तिनको जित-हारले मात्र सहिदको सपना साकार पार्ने होइन,” थापाले भने, “कांग्रेस जित्ला हार्ला सपनाले हार्नु हुँदैन । निर्वाचनपछाडि संसद पनि आउँछ र सरकार पनि आउँछ । तर, सुशासन र विकास भएन भने त्यसबेला ज्यान गुमाउने सहिदको आमाले हार्नुहुने छ ।”
उनले कांग्रेसले जित्यो भने सुशासनबाटै सुरुआत गर्ने बताए । ६ महिनाभित्र शक्तिशाली आयोग बनाएर कांग्रेस नेताहरूबाटै छानबिन सुरु गर्ने उनको भनाइ छ ।
“कांग्रेसले जित्यो भने सुशासनका लागि शक्तिशाली आयोग बनाएर सुरूमा शेरबहादुरको, त्यसपछि मेरो (गगन थापाको) सम्पत्ति छानबिन गर्नेछ,” थापाले भने ।
मुलुकका विद्यमान समस्याहरूको पहिचान गर्दै सुशान्त शासनका लागि गर्नुपर्ने थुप्रै योजना बनाएको थापाले बताए । “प्रोजेक्ट गभर्मेन्टमार्फत् लगातार सात वर्षदेखि काम गरेका छौँ । समस्या कहाँ छ भनेर खोजी गरेका छौँ,” थापाले भने, “अब हामीलाई काम गर्न तपाईंको साथ चाहिएको छ ।”
उनले संविधान र व्यवस्था जोगाएर देशलाई विकासको बाटोमा अघि बढाउने बताए । “यो संविधान जोगाउने हो । यो व्यवस्था जोगाउने हो र देशलाई विकासको गतिमा अघि बढाउने हो,” थापाले भने ।
सर्लाहीमा आफ्नो उमेदवारी परिवारको विस्तार भएको भन्दै सर्लाहीबाट निर्वाचित भएपछि काठमाडौं-४ म आशीर्वाद लिन आउने बताए । “जनप्रतिनिधि भएपछि आशीर्वाद लिन काठमाडौं सहरमा आउनेछु । त्यसबेला मेरो छेउमा निर्वाचित सचिन तिमल्सेनालाई पनि राखिदिनुहोला । राखिदिनुहुनेछ,” थापाले भने ।











