Logo
Logo

११ दल र १ हजार ८६५ उम्मेदवारले मात्र खोले निर्वाचन बैंक खाता


252
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म १ हजार ८६५ जनाले मात्रै निर्वाचनसम्बन्धी बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।

The current image has no alternative text. The file name is: Nirwachan-ayog.jpg

त्यस्तै, निर्वाचनमा सहभागी ६५ राजनीतिक दलमध्ये ११ दलले मात्र आयोगको कार्यविधिअनुसार बैंक खाता सञ्चालनमा ल्याएका छन् ।

आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा ९संयुक्त०, नेपाली कम्युनिष्ट पार्टी नेकपा, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी जसपा, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन् ।

निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले प्राप्त गर्ने आर्थिक सहयोगको पारदर्शिता सुनिश्चित गर्न, तोकिएको खर्च सीमा पालना गराउन र प्रभावकारी अनुगमन गर्न बैंक खाता खोल्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार आयोगमा दर्ता भई समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारी दिएका सबै राजनीतिक दल, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने प्रावधान छ ।

निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने आर्थिक सहयोग र गरिने सम्पूर्ण खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था रहेकाले दल र उम्मेदवारले कार्यविधिअनुसार खाता सञ्चालन गरिरहेका आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्