Logo
Logo

एमाले कार्यकर्तालाई लिङ्देनको अपील- मलाई भोट दिएर पछुताउनु पर्दैन


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै पनि शक्तिसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन्।

उनले घोषित वा अघोषित रूपमा कुनै पनि दलसँग तालमेल नगरेको दाबी गर्दै राप्रपाको शक्तिमाथि भरोसा गर्न आग्रह गरेका हुन्। झापा निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्नो चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष लिङ्देनले विशेष गरी नेकपा (एमाले) का कार्यकर्ता र शुभचिन्तकहरूलाई विगतका चुनावहरूमा एमालेका मतदाताले आफूलाई मतदान गरेर जिताएको स्मरण गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे।

लिङ्देनले एमालेका मतदाताहरूलाई प्रश्न गर्दै ‘सूर्य चिह्नवाला मान्छेले हलोमा भोट दिएर अपराध गरेँ भन्ने लाग्छ?’ भन्दै प्रश्न गरे।

कुनै बेला एमाले भएर सूर्यमा भोट दिएर पछुताएको भए पनि राजेन्द्र लिङ्देनलाई भोट दिएर पछुताउनु नपर्ने बताए।

उनले आफू कुनै एउटा जात, धर्म वा पक्षको मात्र नभई समग्र देशहितको पक्षमा संसदमा उभिएको बताए।

उनले भने, ‘कुनै पनि पार्टीसँग राप्रपाले गठबन्धन गरेको छैन। कुनै पनि प्रकारको तालमेल गरेको छैन। घोषित अघोषित रूपमा कुनै पनि प्रकारको सम्झौताहरू गरेको छैन र राप्रपा एक्लै चुनावमा लडिरहेको छ। म तपाईं सबै दिदीबहिनी दाजुभाइहरूलाई अपील गर्न चाहन्छु, खासगरी एमाले साथीहरूलाई भन्छु। तपाईंहरूले दुई चोटि त हलोमा भोट हालिसक्नु भयो। दुई चोटि त तपाईंहरूले मलाई चुनाव जिताइसक्नु भयो। एक चोटि छातीमा हात राखेर सम्झिनुहोस् आफैले आफैलाई सोध्नुहोस् तपाईं एमालेको मान्छेले सूर्य चिह्नवाला मान्छेले हलोमा भोट दुई चोटि दिएर अपराध गरेँ भन्ने लाग्छ? राजेन्द्र लिङ्देनलाई भोट दिएर गल्ती भयो भन्ने लाग्छ? मलाई जहाँसम्म लाग्छ, बरू तपाईंले कुनै बेला एमाले भएर सूर्यमा भोट दिएर पछुताउनु भएको होला तर राजेन्द्र लिङ्देनलाई भोट दिएर तपाईंले पछुताउनु परेको छैन।’

आफ्नो कार्यकालको समीक्षा गर्दै उनले आफूले भ्रष्टाचार नगरेको र काम गर्ने सिलसिलामा कुनै पनि प्रकारको पक्षपात नगरेको दाबी गरे।

‘मैले भ्रष्टाचार गरेको छैन, काम गर्ने सिलसिलामा पक्षपात गरेको छैन, पार्टी खोजेर हिँडेको छैन र मैले संसदमा उभिएर कुनै एउटा जातको एउटा धर्मको एउटा पक्षको कुरा मात्र होइन, मैले समग्र देशहितको कुरा गरेको छु। त्यति मात्र होइन आज सबैले एकले अर्कालाई निषेध गरिराखेको बेला, एकले अर्कालाई समाप्त गर्न प्रयत्न भइराखेको बेला संसदमा होस् अथवा सडकमा उभिएर होस्, राष्ट्रिय एकता र सहमतिको कुरा गरेको छु। सबैलाई मिलाएर लैजाने प्रयत्न गरिराखेको छु। र भविष्यमा पनि तपाईंको मनमा लाग्छ, राजेन्द्र लिङ्देन फेरि पनि संसदमा जान जरूरी छ, राजेन्द्र लिङ्देनको पार्टी बलियो बन्न जरूरी छ अनि मात्रै यो देशमा शान्ति, स्थिरता र एकता कायम हुनसक्छ भन्ने तपाईंको मनमा लाग्छ।’

उनले देशमा शान्ति, स्थिरता र एकता कायम गर्न राप्रपा बलियो बन्नुपर्ने र आफू पुनः संसदमा पुग्नु अनिवार्य रहेको जिकिर गरे।

उनले मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गरेर देशको भविष्यका लागि मतदान गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्