Logo
Logo

इरानका ९ युद्धपोत डुबाएको ट्रम्पको दाबी


693
Shares

काठमाडौं । अमेरिकाले इरानका ९ वटा युद्धपोतहरू डुबाएको र इरानी नौसेनाको मुख्यालयलाई ठूलो मात्रामा ध्वस्त पारेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो दाबी गरेका हुन् ।

उनका अनुसार इरानमाथि गरिएको अमेरिकी–इजरायली आक्रमणमा ४८ वरिष्ठ इरानी अधिकारीहरू मारिएका छन् । अमेरिकी सेन्ट्रल कमान्डले जानकारी दिएअनुसार ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको सैन्य अभियानको सुरुवातमै अमेरिकी सेनाले इरानी ‘जामरान–क्लास कोर्पेट’ (एक प्रकारको युद्धपोत) माथि आक्रमण गरेको थियो ।

शनिवारबाट शुरु भएको यस अभियानका क्रममा अमेरिकी सेनाले हालसम्म इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ को मुख्यालयसहित १ हजार भन्दा बढी इरानी लक्ष्यहरूमा आक्रमण गरिसकेको जनाएको छ ।

शनिवार राति २ हजार पाउन्डका बमहरूले सुसज्जित अमेरिकी बी–२ स्टिल्थ बमवर्षक विमानहरूले इरानका सुदृढ ब्यालिस्टिक मिसाइल संरचनाहरूमा आक्रमण गरेका थिए । कमान्डले ‘यूएसएस अब्राहम लिंकन’ नामक अमेरिकी युद्धपोतमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको भन्ने इरानको दाबीलाई पनि खण्डन गरेको छ ।

‘लिंकनमा कुनै प्रहार भएको छैन । प्रक्षेपण गरिएका मिसाइलहरू त जहाजको नजिकसम्म पनि आइपुगेनन्,’ कमान्डले भनेको छ । इरानविरुद्धको यस सैन्य कारबाहीका क्रममा तीन अमेरिकी सैनिक मारिएका छन् भने अन्य पाँच जना गम्भीर घाइते भएको कमान्डले जानकारी दिएको छ ।

अमेरिका र इजरायलले शनिवार बिहानदेखि इरानमाथि ठूलो स्तरमा हवाई आक्रमण सुरु गरेपछि तेहरानले पनि इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य आधार इलाकाहरूमा श्रृंखलाबद्ध मिसाइल र ड्रोन आक्रमणमार्फत प्रत्याक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्