काठमाडौं । इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले खाडी क्षेत्रमा रहेका देशलाई हवाई आक्रमणबाट जोगाउन हवाई प्रतिरक्षा प्रणाली पठाउने योजना बनाइएको बताएकी छन् ।

इटालियन रेडियोसँगको अन्तर्वार्तामा मेलोनीले इटलीले खाडी देशलाई रक्षा सम्बन्धी सहयोग गर्ने तयारी गरेको जानकारी दिएकी हुन् । उनका अनुसार बेलायत, फ्रान्स र जर्मनीले जस्तै इटलीले पनि विशेष गरी हवाई प्रतिरक्षाको क्षेत्रमा सहयोग गर्नेछन् । हाल ती देशहरूले इरानबाट हुने हवाई आक्रमणको सामना गरिरहेका कारण सुरक्षा सहयोग आवश्यक भएको उनले बताइन् ।
मेलोनीका अनुसार यो कदम केवल मित्रताको कारण मात्र नभएर खाडी क्षेत्रमा हजारौँ इटालियन नागरिक बसोबास गरिरहेको र करिब दुई हजार इटालियन सैनिक पनि त्यहाँ तैनाथ रहेकाले उनीहरूको सुरक्षाका लागि पनि आवश्यक रहेको उल्लेख गरेकी छन् । उनीहरूको सुरक्षालाई ध्यानमा राखेर यस्तो योजना अघि बढाइएको उनले बताएकी छन् ।
हाल अमेरिका र इजरायलले इरानमा आक्रमण गरिरहेको बेला इरानले आफ्ना छिमेकी देशहरूलाई निशाना बनाएपछि युरोपका धेरै देश इरानविरुद्धको लडाईमा होमिने सङ्केत देखिएको छ ।











