फागुन २१ गतेको बहुप्रतिक्षित निर्वाचन सफलतापूर्वक सम्पन्न भैसकेको छ । केही छिटपुट घटना भए पनि त्यो सङ्ख्या अपेक्षाभन्दा धेरै कम हो । झन्डै ३२ प्रतिशत मतदाता विदेशमा रहेको समयमा भएको चुनावमा लगभग ६० प्रतिशत मत खस्नु शतप्रतिशत मत खस्नु जस्तै हो । यो तथ्याङ्कले पनि जनतामा चुनावप्रति अपार उत्साह रहेको प्रस्ट हुन्छ ।

अहिले देशभर मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा अभूतपूर्व प्रारम्भिक रुझान देखिएको छ । भनिन्छ, बिहानीले नै दिउँसोको सङ्केत गर्छ । यसलाई आधार मान्ने हो भने रास्वपालाई बहुमत ल्याउनबाट अब कसैले रोक्ने स्थिति देखिँदैन । अहिलेकै आँकडामा टेकेर अगाडि बढ्यो भने रास्वपाले दुईतिहाई ल्यायो भने पनि अचम्म मान्नुपर्ने स्थिति छैन ।
निर्वाचनपूर्व नै रास्वपाको पक्षमा लहर त देखिएको थियो तर यो यति बेगवान रहेछ भन्ने धेरैलाई पत्तै भएन । जसलाई लागेको थियो, उनीहरू पनि त्यसो भनेर जोखिम मोल्ने अवस्थामा थिएनन् । केही राजनीतिक पण्डित र मिडियाले त बोलेका थिए तर उनीहरूको पक्षधरताका कारण विश्वास गरिहाल्ने अवस्था थिएन ।
अप्रमाणित नयाँ रास्वपाको डंका बज्दा प्रमाणित पुराना एमाले, कांग्रेस, नेकपा र नेसपाकै बातो बस्ने हो । अहिले यी दलका कुनै पनि नेता र कार्यकर्ताको बोल्ती बन्द भएर बातो मात्र बसेको छैन, उनीहरूको सातो नै हराएको छ ।
अत्यन्तै उत्तम लोकतान्त्रिक अभ्यासका रूपमा चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनेर लगभग सबै नयाँ(पुराना नेताले सरकारलाई धन्यवाद दिइसकेका छन् । जतिबेला खासगरी पुराना नेताहरूले धन्यवाद दिइरहेका थिए, रास्वपाले यस्तो एकतर्फी प्रदर्शन गर्ला भन्ने अनुमान नै गरिरहेका थिएनन् । अब रुझान नै यस्तो आइसकेको अवस्था छ, भन्ने के रु उनीहरू बिलखबन्द छन् ।
यसले एक किसिमको राजनीतिक सन्नाटा छाएको छ ।
उता, स्वयं रास्वपा पनि अकल्पनीय प्रारम्भिक रूझानका कारण उकुसमुकुसमा देखिन्छ । यतिबेला उसका सामु एक हैन, अनेक प्रश्नहरू झुत्ती खेलिरहेका छन् । यो अप्रत्यासित परिणामलाई कसरी लिने रु त्यसपछि सरकार बनाएर चलाउनुपर्ने हुन्छ, कसरी चलाउने रु दुई मुखे नेतृत्व छ, धेरै विषयहरूमा परस्पर विरोधी अडान छन्, त्यसलाई कसरी सम्बोधन गर्ने रु
बोल्न नचाहने बालेनलाई त खासै समस्या नहोला तर बोलिरहनुपर्ने रवि भने प्रचण्ड समस्यामा छन् । बोल्नसमेत बालेनसँग सल्लाह गरेर फुकी फुकी बोल्नुपर्ने अवस्था छ । किनभने उनलाई थाहा छ, यो जीतको प्रमुख कारण बालेन हुन् र उनी नै रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार मात्र हैनन्, अब त नेपालकै वेटिङ प्राइमिनिस्टर पनि हुन् ।
यतिबेला सिंगो नेपाल आफैँ पनि छक्क परेको छ । घरदेशमा हुन् वा परदेशमा जहाँ रहेका भए पनि सारा नेपाली नै अचम्मित छन् । आखिर रास्वपाको पक्षमा यति ठूलो म्याण्डेट कसरी सम्भव भयो रु
यसका एक हैन, अनेक कारण छन् । तर, पनि प्रमुख कारण बालेन वेग नै हो । घण्टी लोकप्रिय चुनाव चिन्ह त थियो तर त्यसको रालो रविमा खिया लागिसकेको थियो । खिया पनि यति धेरै लागेको थियो कि रालो ठोक्किँदा पनि घण्टीको आवाज आउनै छोडेको अवस्था थियो ।
घण्टी बज्न नयाँ रालो चाहिसकेको थियो । त्यही रालो भएर आए, बालेन । आम मानिसमा यस्तो छाप पर्यो कि बालेन छैनन् त घण्टी छैन । त्यो छाप कर्ममा परिणत भयो । मानिसहरूले बालेन नामको त्यही रालो समातेर जोडले बजारे र देशभरि घण्टी टिनिनी मात्र हैन, टनन नै पारे ।
त्यसको पहिलो निशानामा परे, झापा ५ मा केपी ओली । दमकमा जारी मतगणनाले उनलाई जीतको नजिक त हैन, प्रतिस्पर्धामा उभिन पनि गाह्रो बनाएको छ । नेपाली राजनीतिकै एक खम्बा ओलीको राजनीतिक जीवनको अन्त्य यति लज्जास्पद होला भनेर कसैले कल्पना पनि गर्न सक्दैनथ्यो । तर, बालेन नामको बेगले उनलाई यसरी ढाल्यो कि अब उनी चारैतिर नायक हैन, खलनायक मात्रै देखिने छन् । अरूतिर त कसरै छोडै, उनको आफ्नै पार्टी एमालेभित्र पनि अब उनी एक धन्धुकारी ठहरिने छन् । एमालेको यो लज्जास्पद हारको पछाडिका मूल कारण ओली र उनका जोजोम्यान नै हुन् । ओलीको नेतृत्व फेरेर नवयुवाहरूलाई चुनावी मैदानमा उतारेको भए एमालेको यति लज्जास्पद हार हुने थिएन ।
यो बेगले कांग्रेसलाई पनि नराम्ररी पछार्यो । धेरैलाई लागेको थियो कि गगन थापाको पुनरागमनले कांग्रेस जोगिन सक्छ । कतिपय राजनीतिक पण्डितले त कांग्रेसको मत नै बढ्ने प्रक्षेपण समेत गरेका थिए । तर, प्रारम्भिक रुझान हेर्दा त्यस्तो सम्भावना कतै देखिएन। वाहुबली बालेनको वेग सामु गगनको सिरसिरे हावा निरिह भयो । यद्यपि, गगनलाई अन्तरपार्टी अंकगणितमा ठूलो नोक्सानी नहुने देखिन्छ । यो हारबाट उठेर उनले आफूलाई लामो रेसको घोडा सावित गर्न सक्छन् ।
रास्वपाको डैका बजेको यतिबेला अरू दलको त कुरा गर्नुको अर्थ पनि केही छैन । उनीहरूको संसदमा उपस्थिति नै हुन्छ कि हुन्न भन्ने स्थिति छ ।
अहिलेको मूल प्रश्न भनेको अब रास्वपा कसरी अगाडि बढ्छ भन्ने नै हो । उसले यो मत सुशासन र भ्रष्टाचारको अन्तका लागि पाएको हो । उसका लागि ती दुवै मुद्दा सम्बोधन गर्न सहज छैन । अझ, त्यसमा पनि पार्टी सभापति रवि लामिछानेमाथि नै भ्रष्टाचारका संगीन आरोप छन् । उनको राजनीतिक भविष्य नै सदाका लागि पूर्ण विराम लाग्ने दोहोरो राहदानीको मात्र हैन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको स्याँगी पनि गर्धनमाथि नै तेर्सिएको छ ।
नजिकको छिमेकीमध्ये दक्षिणको भारत र टाढाको छिमेकी अमेरिकाले चुनावको परिणामलाई स्वागत गर्ने र जो सरकारमा आए पनि सहकार्य गर्ने बताइसकेका छन् । तर, उत्तरको छिमेकी चीन अझै पनि बोलिसकेको छैन ।
अहिलेको विश्वभूमण्डलीयकरणको युगमा देशको चुनाव जितेर मात्र पुग्दैन, नेपालको भूराजनीतिक संवेदनशीलताको चुनावी क्षेत्र पनि जित्नुपर्ने हुन्छ । त्यो जित्नु भनेको नेपालको चुनाव जित्नुभन्दा धेरै गुणा गाह्रो काम हो । नयाँ रास्वपाका लागि यो पनि अर्को चुनौतीको पहाड भएर ठडिएको छ ।
यो बाहुबली बालेनको वेग चलिरहेको समय हो । यो बेगले अब कस कसलाई ढाल्ने भन्ने प्रश्नै रहेन, अबको प्रश्न भनेको को को चाहिँ बच्ने हुन् भन्ने नै हो ।
अहिलेका लागि चुनावी परिणाम नै पर्खौँ । अबको २४ घण्टामा धेरै कुराहरू प्रस्ट हुँदै जान्छन् । ती सबै समयको ऐनामा देख्न पाइन्छ । हाम्रो काम भनेको हेर्ने हो, हेर्दै जाऊँ ।











