Logo
Logo

ओलीमा अझै कुनै पश्चताप छैन


3.2k
Shares

काठमाडौं । झापाबाट चुनाव हारेर काठमाडौं आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन दिनअघि केही नेताहरूलाई गुण्डुमा बोलाएर आफूमाथि धरपकड हुने संकेत पाएको जानकारी गराएका थिए । चुनावमा पराजित भएका ओलीले भदौ २३ गते त्यत्रो मान्छे मार्दा पनि कुनै गल्ती महसुस नगरी आफूमाथि धरपकड हुने भन्दै कार्यकर्तालाई प्रतिकार गर्न उक्साइरहेका छन् । देशभर एमाले पत्तासाफ हुँदा पनि ओलीको अनुहारमा कुनै पश्चताप झल्कदैन ।

पार्टीले झापा ५ लगायतका देशभर सर्मनाक पराजय भोगेपछि ओली भेट्न गुण्डु पुगेका केन्द्रीय सदस्यहरूलाई ओलीले आप्mनो ठाउँ जोगाउन नसकेको भन्दै उल्टै खिसिटिउरी गर्ने गरेका छन् । उनले आफूलाई अब बन्ने सरकारले धरपकड गर्ने तयारी गरेको कुरा पनि सुनाएको स्रोतले बताएको छ ।

ओलीलाई भेटेर आएका एक केन्द्रीय सदस्यका अनुसार उनमा कुनै पनि प्रकारको आत्मग्लानी र पश्चताप छैन । ‘म लगायत केही नेताहरूलाई धरपकड गर्ने, जेल हाल्ने तयारी छ । सबै परिस्थितिको सामना गर्न तयार हुनुपर्छ’, ओलीको भनाई उद्यृत गर्दै ती केन्द्रीय सदस्यले दृष्टिसँग भने । ओलीले पार्टीलाई रसातलमा पुर्याउदा पनि एमालेभित्र ठूलो स्वरमा विरोध हुन सकेको छैन । गगन थापाले भनेझै एमाले आफै पनि ‘दास र लास’को पार्टी बनेको छ । केही जिल्लाका नेता कार्यकर्ताहरूले भने पार्टीलाई पुनर्गठन गरेर लैजानुपर्ने भन्दै आवाज उठाएर राजीनामा दिन थालेका छन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दालनबारे जाँचबुझ गर्न गठित छानबिन आयोगले तत्कालीन सरकार प्रमुख ओली र गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुर अन्र्तगत कारबाही गर्न सिफारिस गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेका आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा दुवै नेताहरूलाई फौजदारी अभियोगमा कारबाही गर्न सिफारिस गरेको हो । यही छनक पाएका ओलीले पार्टी पंक्तिलाई हाइअलर्टमा राख्न खोजेका हुन् ।

ओली मात्र होइन एमाले नै हार्ने अवस्थामा पुगेका बेला पार्टी भित्रको समीक्षा गर्नुका साटो जेनजी आयोगको प्रतिवेदनलाई देखाएर ओलीले नेतृत्व छाड्ने बहसलाई पन्छाउन खोजेका छन् ।

जेन–जी आन्दोलनप्रति ओली सरकारको कठोर व्यवहार, नेतृत्वको अहंकारी शैली, पार्टीभित्रको असन्तुष्टि र विभाजनको शृंखलाले एमालेलाई अहिलेको अवस्थामा प¥याएको भएपनि ओलीले यो मान्न तयार भएका छैनन । तर पनि एमालेभित्र लाई नेतृत्वको प्रतिरक्षा गर्न कठिन हुने अवस्था पुर्याएको छ ।

सरकार सञ्चालनको मुख्य जिम्मेवारीमा रहेको तथा परिस्थितिको आकलन नगरी सामाजिक सञ्जालमा रोक लगाएर जेनजीलाई आन्दोलित बनाउन प्रेरित गरेको ठहरसहित फौजदारी कानुनअन्तर्गत कारबाही गर्न आयोगले सिफारिस गरेपछि ओलीका लागि पार्टी नेतृत्व गर्ने थप नैतिकता समेत कायम रहेको छैन । ‘यस्तो अवस्थामा उहाँले पार्टी नेतृत्व हस्तान्तरण गरेर बस्दा नै उपयुक्त हुन्छ किनकी आयोगको आरोपलाई सामाना गर्न र जनादेशको सम्मान गर्न पार्टीलाई सहज हुनेछ’, एमालेका एक पदाधिकारीले दृष्टिसँग भने ।

जेनजी आन्दोलनपछि हरेक पार्टीमा नेतृत्व हस्तान्तरणको बहस भैरहँदा एमालेभित्र पनि सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटालगायतले बहसका रुपमा अघि बढाएका छन्  ।

प्रतिक्रिया दिनुहोस्