Logo
Logo

राष्ट्रपति निर्वाचनमा हारेपछि ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री


- दृष्टि न्युज/संवाददाता


वासिंगट, २५ कार्तिक (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री मार्क इस्पेरलाई बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेका बेला रक्षा मन्त्रीलाई सोमबार बर्खास्त गरेका हुन् ।
रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन् । तर उनलाई हटाउनुको कारण भने स्पष्ट पारेका छैनन् ।
ट्रम्प र इस्पेरकाबीचमा पछिल्लो केही समयदेखि मतभेद रहेको थियो । गत जुनमा एक जना अश्वेत अमेरिकीको हत्या भएपछि चर्किएको आन्दोलनका क्रममा सेना परिचालन गर्ने की नगर्ने बारेमा उनीहरुका बीचमा मतभेद भएको हो । त्यतिवेला ट्रम्पले आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेपनि रक्षा मन्त्री इस्पेरले भने अस्वीकार गरेका थिए । त्यति बेला नै उहाँलाई ट्रम्पले बर्खास्त गर्ने अनुमान गरिएपनि अहिले भने अनुमान गरिएको थिए ।
राष्ट्रपति ट्रम्पले इस्पेरलाई हटाएर खाली भएको रक्षा मन्त्रीको पदमा नेस्नल काउन्टर टेरोरिजम सेन्टरका निर्देशक क्रिस्टोफर मिलरलाई जिम्मेवारी दिएका छन् । ट्रम्पले नवनियुक्त रक्षा मन्त्री मिलरले राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै बर्खास्त रक्षा मन्त्री इस्पेयरलाई विगतको सेवाका लागि धन्यवाद दिएका छन् ।
बर्खास्त गरिएका इस्पेरले पनि राष्ट्रपति ट्रम्पप्रति धन्यवाद ज्ञापन गर्दै जिम्मेवारीमा रहँदा संविधान र सैनिक तथा सुरक्षाको मर्म अनुसार काम गर्ने प्रयत्न गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्