काठमाडौं । फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको फागुन मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब ४८ अर्ब ११ करोड र बाह्य १५ खर्ब ३० अर्ब १८ करोड रहेको छ । गत असार मसान्तको तुलनामा फागुन मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ४ अर्ब २५ करोड थपिएको छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।

यो सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४७.१३ प्रतिशत हो । चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्त भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लेख गरेको छ । यो वार्षिक बजेट विनियिजनको आधारमा ५८.९४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा माघ मसान्तसम्म कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ ।











