Logo
Logo

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाएको घटना छानबिन गर्न समिति गठन


882
Shares

काठमाडौं । गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको विषय छानबिन गर्न समिति बनाएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिबार सफाइको क्रममा पुस्तकका केही प्रति जलेको भिडिओ सार्वजनिक भएपछि चिनियाँ दूतावासले चासो राख्दै परराष्ट्र मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराएको थियो ।

गृहले मोरङका सहायक सीडीओ सरोज कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि समिति सदस्य छन् ।

फोहोर जलाएको भिडिओमा ती पुस्तक पनि जलेको देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विश्वविद्यालयसँग जवाफ माग्दै २४ घण्टे पत्र पठाएको थियो । विश्वविद्यालयले ल्याव निर्माणका लागि कोठा खाली गर्ने क्रममा धमिराले खाएका र नष्ट भएका केही पुस्तक तथा सामग्रीहरू मुचुल्का उठाएर जलाइएको जवाफ पठाएको छ ।

आवश्यक छानबिनसहित प्रतिवेदन बुझाउने गरी समितिलाई १५ दिनको सीमा तोकिएको मोरङका सीडीओ युवराज कट्टेलले बताए ।

प्रदेश सरकार मातहतमा रहेको विश्व विद्यालयमा मनमोहन प्रतिष्ठानमार्फत ती पुस्तक आएका थिए । स्व. भरतमोहन अधिकारी प्रतिष्ठानको अध्यक्ष हुँदा नै स्थानीय संघ संस्थालाई वितरण गर्नेगरी ती किताब तत्कालीन मनमोहन पोलीटेक्निक इन्ष्टिच्युटमा आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्