काठमाडौं । घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगाएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरिएको छ । भारतको हिमाचल प्रदेशको कोतखाईबाट रुकुम पश्चिमकी २१ वर्षीया युवतीको उद्धार गरिएको हो ।

पीडितको आफन्तले दिल्लीस्थित नेपाली दूतावासको हटलाइन मा फोन सम्पर्क गरेर उद्धारको आग्रह गरेको थियो । दूतावासले किन इन्डिया तथा हिमाचलका प्रहरीसँगको समन्वय गरेर पीडितको उद्धार गरेको छ । किन इन्डियाका प्रमुख नविन जोशीले चार वर्ष अगाडि स्याउ बगानमा काम थालेकी किशोरीलाई बगानधनीले पछि घरमा काम लगाएको बताए । घरमा काममा लगाएपछि पारिश्रमिक नदिने र घरपरिवारलाई समेत सम्पर्क गर्न नदिएर राखेको जोशीले बताए ।
किशोरी ११ कक्षा पढ्दै गर्दा हिमाचल प्रदेश पुगेकी थिइन् । हिमाचाल प्रहरी तथा स्थानीय बाल कल्याण समितिको सहयोग लिएर पीडितको उद्धार गरिएको हो । घटनाविरुद्ध प्रहरीमा उजुरी दिएर पीडकलाई कारबाहीको दायरामा ल्याइने जोशीले बताए । पीडितको स्वाथ्य उपचार तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने क्रममा रुकुम पुगेका किन इन्डियाका निर्देशक नविन जोशी लगायतको टिमलाई हर्सोलासका साथ गाउँलेले स्वागत गरेको हो ।











