काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ । यो प्रतिवेदन बुझाएसँगै अब नयाँ सरकार गठनका लागि संवैधानिक ढोका औपचारिक रूपमा खुलेको छ । आयोगले आज मात्रै प्रतिवेदन बुझाएको हो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको समग्र परिणाम र विवरण समेटिएको प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल राजनीतिक परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।
आयोगले प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिले अबको केही दिनभित्रै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछन् । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत ल्याएकाले संविधानको धारा ७६ (१) अनुसारकै एकल बहुमतको सरकार बन्ने निश्चित देखिएको छ ।
आयोगका अनुसार यो निर्वाचनमा समानुपातिकतर्फ ११० र प्रत्यक्षतर्फ १६५ गरी कुल २७५ सांसदको नामावली समेटिएको प्रतिवेदन आजै राजपत्रमा समेत प्रकाशित गरिनेछ ।











