काठमाडौं । यही चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी अघि बढेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ । योसँगै राष्ट्रपति कार्यालयले संघीय संसद्को अधिवेशन बोलाउनेबारे तयारी गरेको हो ।

बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । जहाँ प्रतिनिधिसभा सदस्यको शपथ र प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा छलफल भएको थियो ।
छलफलले नवनिर्वाचित सदस्यहरूको शपथ यही चैत १२ गते हुने तय गरेको छ । १२ गते बिहान साढे ११ बजे ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनेछन् । सोही दिन दिउँसो २ बजे ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् ।
त्यसपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । १३, १४ र १५ गते सरकार गठन र त्यससँग सम्बिन्धित कार्य हुनेछ । चैत १६ गते प्रतिनिधिसभाको पहिलो बैठक बोलाउने तयारी रहेको छ ।
त्यसदिन राष्ट्रपतिले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू पढेर सुनाउने, दलका नेताहरूले बोल्न चाहेको खण्डमा शुभकामना मन्तव्यका लागि समय दिने लगायतका कार्यसूची राख्ने अभ्यास छ ।











