काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित शीर्ष नेताबीच भेटवार्ता भएको छ।

बिहीबार साँझ सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको हो । सरकार गठन लगायतका विषयमा छलफल भएको जनाइएको छ।
रास्वपा उपसभापति वाग्लेले समाजिक सञ्जालमा चार जनाबीच भेटघाटको तस्बिर पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘राजकाज। आज साँझको छलफल।’
उनले राजकाज भनेर राज्य सञ्चालनबारे छलफल भएको इंगित गरेका हुन् । झण्डै दुई तिहाई बहुमत ल्याएपछि रास्वपा एकल सरकार गठन गर्ने भएको छ।
वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको रास्वपाले सोही अनुसार नतिजा आएपछि सरकार बनाउँदै छ। शाहको नेतृत्वमा बन्ने मन्त्रिपरिषद्मा रहने सदस्यको चयनका लागि रास्वपा नेतृत्व आन्तरिक गृहकार्यमा जुटेका छन्।
योसँगै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम निश्चित भएको छ । छलफलपछि सांसदको शपथ लिएलगत्तै प्रधानमन्त्रीले शपथ ग्रहण लिने टुङ्गो लागेको हो ।
संघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसलगत्तै सरकार गठन गर्ने रास्वपाले निर्णय गरेको हो।











