काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि चैत २० गते सम्मको मौका दिएको छ ।

प्रशासनले शुक्रवार एक सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक वर्गीकरण कार्य गरिने जानकारी गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, विविध कारणले यसअघिका प्रक्रियामा उपस्थित हुन नसकेका घाइतेहरूलाई लागि यो मिति तोकीएको हो ।
वर्गीकरण प्रक्रियामा सहभागी हुन चैत २० गते शुक्रवार दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुग्न प्रशासनले आग्रह गरेको छ । आवेदन दिन उपचार तथा स्वास्थ्य परीक्षण गरिएका सक्कल कागजात र जेनजी घाइते परिचयपत्र ल्याउन र घाइते व्यक्ति स्वयं उपस्थित हुन भनिएको छ ।
प्रशासनका अनुसार ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले यसअघि नै अधिकांश घाइतेको वर्गीकरण टुंग्याइसकेको छ। यसअघि २०८२ मङ्सिर ५, मङ्सिर १२ र माघ १८ गते अधिकांश घाइतेको वर्गीकरण सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।












