काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगञ्जस्थित नारायणी रङ्गशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको छ ।

लुम्बिनी प्रदेशले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षा सुरु हुनुअघि कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थामा खेल रोकिएको हो । कर्णालीका ओपनर रवीन्द्र शाही ९ रन र सुनिल धमला ७ रन बनाएका थिए ।
लुम्बिनीका बलर सन्देश थापाले ४ ओभरमा १२ रन खर्चिए भने राजेन्द्र बमले ३ ओभरमा एक मेडनसहित ८ रन मात्र दिए ।
यस संस्करणको प्रधानमन्त्री कप मधेश प्रदेशका दुई र काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगिताका १९ खेल वीरगञ्जमा, १७ खेल जनकपुरमा र १० खेल मुलपानीमा हुने तालिका रहेको छ ।
आईसीसी विश्वकप लिग-२ को तयारीका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा यसपटक कुनै खेल राखिएको छैन । त्यहाँका सबै खेल मुलपानीमा सारिएको छ ।
करिब एक महिना चल्ने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। साबिक विजेता नेपाल पुलिस क्लब हो ।











