काठमाडौं । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टीको हालको अवस्थाबाट ‘बचाउन’ र पुनः शक्तिशाली बनाउन तीन मुख्य प्रस्ताव अघि सारेका छन् । प्रतिनिधिसभा निर्वाचनमा एमालेले ठूलो पराजय बेहोरेपछि पार्टीभित्र विभिन्न टिप्पणी र बहस चलिरहेका बेला पाण्डेले एमालेलाई आधुनिक तथा प्रभावकारी बनाउन तीन प्रस्ताव सहितको अवधारण अघि सारेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘के अब एमाले पहिलेकै लयमा फर्किन्छरु मेरो विश्वास छ-हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौँ ।’ पाण्डेका अनुसार, यसका लागि इतिहासको बोझ बोक्नुभन्दा भविष्यमा लगानी गर्नुपर्छ । उनले भनेका छन्, ‘हामीले इतिहासको ब्याजमा होइन, भविष्यको लगानीमा ध्यान दिनुपर्छ । अबको एमाले केवल राजनीतिक शक्ति मात्र नभई देशका जटिल समस्या समाधान गर्ने विज्ञता र प्रविधिसहितको गतिशील संस्था बन्नुपर्छ ।’
पार्टी बचाउन र सुदृढ बनाउन तत्काल तीन मुख्य क्षेत्रमा काम गर्नुपर्ने उनको जोड छ
१. विज्ञतामा आधारित राजनीति: अब पार्टीले केवल भाषण र नारा मात्र होइन, विषयगत विज्ञ, अर्थशास्त्री तथा विशेषज्ञहरूसँग सहकार्य गरी देशको आर्थिक संकट समाधान गर्ने ठोस तथा प्राविधिक रोडम्याप तयार गर्नुपर्छ । यसले राजनीतिलाई थप व्यावहारिक र समाधानमुखी बनाउनेछ ।
२. डिजिटल मेरिटोक्रेसीको अभ्यास: व्यक्तिगत पहुँच वा सम्बन्धका आधारमा जिम्मेवारी बाँडफाँड गर्ने पुरानो प्रथा अन्त्य गर्नुपर्छ। आधुनिक प्रविधि र पारदर्शी मूल्यांकन प्रणाली (इभ्यालुएसन फ्रेमवर्क) लागू गरी हरेक कार्यकर्ताको क्षमता, योगदान र प्रदर्शनको निष्पक्ष मापन गर्नुपर्छ। यसले योग्यता र मेरिटलाई प्राथमिकता दिनेछ ।
३.संरचित पुस्तान्तरण र नेतृत्व हस्तान्तरण : नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने र अनुभवी नेताहरूको ज्ञान तथा अनुभव उपयोग गर्ने गरी वैज्ञानिक मोडल लागू गर्नुपर्छ । यसमा को-लिडरसिप (सह-नेतृत्व) र मेन्टरसिप (मार्गदर्शन) प्रणाली सुरु गर्नुपर्ने पाण्डेको सुझाव छ । यसले पुस्तान्तरणलाई सहज र प्रभावकारी बनाउनेछ । पाण्डेले यी प्रस्तावहरूलाई तत्काल कार्यान्वयनमा ल्याउन जोड दिएका छन् ।











