Logo
Logo

कांग्रेस विवाद : छुट्टै भेला बोलाउने देउवा पक्षको तयारी


1.7k
Shares

काठमाडौं । विशेष महाधिवेशनलगत्तै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक कलह पुनः सतहमा आएको छ ।

गगन–विश्वप्रकाश पक्षले निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक जारी राखेकै बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले ‘पुरानै’ केन्द्रीय समितिको छुट्टै बैठक बोलाउने तयारी गरेपछि विवादले नयाँ मोड लिएको हो । निर्वाचनमा कांग्रेसले व्यहोरेको ‘सर्मनाक’ पराजयपछि देउवा पक्ष वर्तमान नेतृत्वसँग असन्तुष्ट देखिएको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसै साता निवर्तमान केन्द्रीय सदस्यहरूको छुट्टै भेला बोलाउने गृहकार्य थालेका छन् । नेता मीन विश्वकर्माले पार्टीको बृहत् एकताका लागि भन्दै खड्काले संवाद सुरु गरेको र यही साता बैठक बस्ने सम्भावना रहेको पुष्टि गरे ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव ल्याएपछि देउवा पक्ष थप आक्रोशित बनेको छ । उनीहरूले यसलाई ‘राजनीतिक स्टन्ट’ र ‘चटके कार्य’ को संज्ञा दिएका छन् । सभापतिले राजीनामा सार्वजनिक नगरी सिधै अस्वीकृतिको प्रस्ताव ल्याउनु नाटक मात्र भएको इतर पक्षको तर्क छ । यद्यपि, संस्थापन पक्षले भने नैतिक जिम्मेवारी लिएर एकताको सन्देश दिन खोजिएको दाबी गरेको छ ।

कांग्रेस यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा खुम्चिएको छ । अघिल्लो निर्वाचनमा ८८ सिटसहित पहिलो दल बनेको कांग्रेस यसपटक दोस्रो स्थानमा पुगेको हो । यही पराजयलाई अस्त्र बनाएर दुवै पक्ष एक–अर्कालाई गलाउने र १५औँ महाधिवेशनमा शक्ति आर्जन गर्ने रणनीतिमा लागेका छन् ।

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर परेको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । निर्वाचन आयोगले नयाँ कार्यसमितिलाई मान्यता दिए पनि अदालतको अन्तिम फैसला नआउँदा दुवै पक्षले आ–आफ्नो अस्तित्व दाबी गरिरहेका छन्।

पार्टी प्रवक्ता देवराज चालिसे भने विवादभन्दा पनि संरचनागत सुधार र १५औँ महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिन्छन् , तर, देउवा पक्षले छुट्टै बैठक बोलाउने तयारी गरेसँगै कांग्रेसको राजनीति ‘एकता’ भन्दा ‘विभाजन’ तर्फ मोडिने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्