काठमाडौं । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै भारत-चीन व्यापार मार्ग खुलाउने घोषणा गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी (डिस्ट्रिक्ट मजिस्ट्रेट) आशिष भटगानीले यो व्यापार मार्ग जुन १ मा पुनः खुला गरिने बताएका छन् ।

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । यो भूमि हुँदै व्यापार सञ्चालनका लागि भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विदेश मन्त्रालयले नो अब्जेक्सन लेटर जारी गरेपछि सीमा व्यापार पुनः सुरु गर्ने प्रक्रिया अगाडि बढेको जनाइएको छ । भारतका विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्यसचिव आनन्द वर्धनलाई पत्र लेखेर लिपुलेक पासबाट व्यापार पुनःस्थापित गर्न भनेका छन् ।
यसअघि नेपाली भूमि लिपुलेक हुँदै जाने व्यापार मार्गका विषयमा आफूलाई नसोधी भारत र चीनले सम्झौता गर्दा नेपालले विरोध गरेको थियो ।











