Logo
Logo

सेयर बजार ७ महिनायताकै उच्च विन्दुमा


315
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्क बढेको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिँदै करिब ७ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आइतबार नेप्से परिसूचक ५४.५१ अङ्क बढेर २९३१.५५ विन्दुमा पुगेको छ । यो करिब ७ महिनायताकै उच्च विन्दु हो । यस अघि गत साउन १४ गते नेप्से परिसूचक २९५४.१४ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ११.११ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ४.०६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स .८२ अङ्क बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि उच्च बढेको छ । बजारमा ३६४ स्टकको २ लाख ४ हजार ९५५ पटकको कारोबारमा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरको ६ करोड १४ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।  कारोबार रकम पनि करिब ७ महिनायताकै उच्च हो । यस अघि गत साउन ११ गते बजारमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

आज ७ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।  कर्पोरेट डेभलपमेन्ट बैङ्क, सालपा विकास बैङ्क, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, विजय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने एनआईसी एशिया लघुवित्तको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ५.७१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा कुमारी बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको यस दिन ८५ करोड ९६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावरको करिब ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ७५ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये  १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२१ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैङ्क, वित्त, जीवन बीमा र निर्जीव बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । आज व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्