काठमाडौं । दिनभरको उतार चढावकाबीच अन्तिम समयमा सेयर बजार सामान्य अङ्कले बढेर बन्द भएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ५.०१ अङ्कले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार ०.१७ प्रतिशत वृद्धिसँगै बजार २९३६.५६ विन्दुमा पुगेको छ ।

अघिल्लो दिन साढे २३ अर्बको कारोबार भएकामा सोमबार पनि १५ अर्ब ७८ करोडको सेयर किनबेच भएको छ । ३ करोड ८० लाख कित्ता किनबेचमा यो परिमाणमा कारोबार भएको हो ।
यो कारोबारमा १०२ वटा सेयरको मूल्य बढ्दा १५४ वटाको घटेको र ८ वटाको आइतबारकै मूल्यमा कारोबार भएको छ ।
सालपा विकास बैङ्क, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रो र भुजुङ हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ भने सनराइज फर्स्ट म्युचुअल फन्डलगायत अधिकतम ३.७१ प्रतिशतसम्मले घटेका छन् ।
नेप्सेका अनुसार आज पनि कुमारी बैङ्कको ६७ करोडको कारोबार भएको छ । यो नै आजको सर्वाधिक कारोबार हो। त्यसैगरी शिवम् सिमेन्टको ६० करोड, नेशनल हाइड्रोपावर ५७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपमेन्ट र ङादी ग्रुप पावरको ५४ करोडको सेयर किनबेच भएको छ ।
आज फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, सामूहिक लगानी र अन्य समूह बढे पनि बाँकी घटेका छन् । सोमबार २९३९ विन्दुबाट सुरु भएको कारोबार उतारचढावका बीच अन्तिममा ५ अङ्कले बढ्नपुगेको हो ।











