
काठमाडौं । रौतहटको एक रिसोर्टबाट प्रहरीले नक्कली सुनसहित चार जनालाई पक्राउ गरेको छ ।
चन्द्रनिगाहपुरस्थित जगत रिसोर्टमा व्यवसायिक यौन गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा नक्कली सुन फोला परेपछि कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारतको पश्चिम बंगाल दार्जिलिङ बस्ने अन्दाजी ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–१० का अन्दाजी ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ का अन्दाजी ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडी जयगाउँ बस्ने अन्दाजी ३० वर्षीय संजोक बस्नेत छन् ।
भारतबाट आएका व्यक्तिहरू बसोबास गर्ने गरेको र बदनियत तथा आपराधिक मनस्थितिका मानिसको आवतजावत बढेको सूचना प्रहरीमा पुगेको थियो।
खानतलासीका क्रममा अरबिन्द चौधरीको पर्सभित्र ‘प्याम्प’ लेखिएको निलो प्लाष्टिकभित्र तीनवटा सुनजस्तो देखिने धातुको पोका फेला परेको थियो । सिलबन्दी अवस्थामा ‘क्रेडिट सुइस १० ग्राम शुद्ध सुन ९९९ दशमलव ९’ लेखिएको प्याकसहित पहेँलो रंगको नक्कली सुनजस्तो धातु ४ थान, पोली कालो बनाइएको १ थान र टुक्रा पारिएको अवस्थामा २ थान गरी जम्मा ७ थान बरामद भएको हो ।
त्यसैगरी घटनास्थलबाट मोबाइल फोन ६ थान र ‘एन्टिक म्याग्निफाइङ बाइनोकुलर’ ‘इस्ट इन्डिया कम्पनी’ लेखिएको दूरबिनजस्तो देखिने मेसिन १ थान समेत बरामद जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले नक्कली सुन बोकेको पाइएको उनले बताए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











