Logo
Logo

‘साम्बा’ले गराइन् घुँडाको शल्यक्रिया


567
Shares

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । साम्बाले सामाजिक सञ्जालमार्फत न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा आफ्नो घुँडाको शल्यक्रिया सम्पन्न भएको जानकारी दिएकी हुन् ।

‘लामो प्रतिक्षापछि अन्ततः मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर साइमन र उहाँको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु’, उनले लेखेकी छन्, ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ । अब यहाँको डाक्टरकै निगरानीमा मेरो पुनस्र्थापनाको काम भोलिदेखि सुरु हुनेछ ।’

स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी पनि साम्बाले गराएकी छन् । साथै उनले यस पीडाको घडीमा साथ दिने वेलिंगटन र अकल्यान्डका नेपालीप्रति आभार प्रकट गरेकी छन् ।

‘मेरो क्लब वेलिंगटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनुभएको छ’, साम्बाले लेखेकी छन्, ‘आम समर्थक जसले सधैँ मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै ऊर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु। यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद। अब सम्पूर्ण ध्यान पुनरागमनमा ।’

प्रतिक्रिया दिनुहोस्