Logo
Logo

सरकार गठनको अघिल्लो दिन १४ अंक बढ्यो सेयर बजार


441
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा सकारात्मक रौनक देखिएको छ । आज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकममा पनि निकै उत्साहजनक वृद्धि भएको छ ।

बिहीबार नेप्से परिसूचक १४.२१ अङ्कले बढेर २९५०.१६ विन्दुमा पुगेको छ । बजार खुला भएदेखि नै उतारचढाव देखिए पनि अन्त्यमा बजार बढेर बन्द भएको हो ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुँदैछ । उक्त दिन सेयर बजार नखुल्ने भएकोले सरकार गठनअघिको पछिल्लो कारोबार आज नै हो । अब आइतबार बजार खुल्नेछ ।

आज दिनभर कुल ३४३ कम्पनीका ३ करोड ४ लाख कित्ता सेयर १ लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा कुल १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका कम्पनीहरूमध्ये १७८ कम्पनीको मूल्य बढेको छ भने ८० कम्पनीको मूल्यमा गिरावट आएको छ। त्यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज बजारमा विकास बैंक, जीवन बीमा, ट्रेडिङ सूचक घटेको छ । म्युचुअल फण्ड को सूचक स्थिर हुँदा अरू सबै समूहका सूचक बढेका छन् ।

आज पाँच वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको मूल्यमा १० प्रतिशत तथा सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ। पञ्चकन्या माई हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फास्ट्रक्चर शीर्ष स्थानमा रह्यो। यसको ९४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, एसवाई प्यानलको ७१ करोड ९२ लाख र नेशनल हाइड्रोपावरको ४६ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्