काठमाडौं । सातोको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारले परिसुचक नेप्से भारी अङ्कले ओरालो लागेको छ । कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से ४७.७१ अङ्कले ओरालो लागेको हो ।

यो सँगै नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अङ्क गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अङ्क घटेको थियो । आजको कारोबारपछि नेप्से २८३१ अङ्कमा झरेको छ । नयाँ सरकार गठन हुनुअघि २ हजार ९५० अङ्कमा थियो ।
आज बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ३ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९६ करोडको भयो । २६ कम्पनीको मूल्य बढ्दा २३७ को घट्यो भने ५ को स्थिर रह्यो ।
बजारका सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.५६ प्रतिशत घट्यो । त्यस्तै बैङ्किङ १.८६, विकास बैङ्क १.२४, फाइनान्स २.००, होटल तथा पर्यटन १.१८, हाइड्रोपावर १.९३, लगानी १.५९, जीवन बीमा १.४०, उत्पादन तथा प्रशोधन ०.२१, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.८२ र अन्य समूह २.१३ प्रतिशत घटेका छन् ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । सप्तकोशी विकास बैंकको मूल्य ९.८३ प्रतिशत बढ्यो ।
सोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.७९, युनिक नेपाल लघुवित्तको ७.२३, सीवाईसी लघुवित्तको ६.८६, मल्टिपर्पज फाइनान्सको ४.९३ प्रतिशतले घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, अपी पावर र नेसनल हाइड्रोपावर कम्पनी छन् ।











