काठमाडौं । आइतबार १०५ अङ्क घटेको सेयर बजार सोमबार ८३.३३ अङ्क बढेको छ । सोमबारको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अङ्कमा पुगेको छ ।

अर्थमन्त्रीको आश्वासनले पनि आज बजार बढ्न मद्दत पुगेको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १२ अर्ब ३८ करोडको कारोबार भएकोमा आज १० अर्ब ९२ करोडको भएको छ ।
२६४ कम्पनीको मूल्य बढेको छ भने ४ को घटेको छ, एकको स्थिर रहेको छ । सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ४.०३ प्रतिशत बढ्यो ।
बैङ्किङ ३.१८, विकास बैङ्क ३.६३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४, अन्य २.३६ तथा व्यापार २.४० प्रतिशत बढेका छन् ।
८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन छन् । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, शिवश्री हाइड्रोपावरको ९.५५ तथा हिमाल दोलखा हाइड्रोपावरको ९.१८ प्रतिशत मूल्य बढ्यो ।
अघिल्लो दिन १० प्रतिशत बढेको रिलायन्स स्पिनिङ मिल्समा आज भने बिक्री चाप बढेको छ । कम्पनीको मूल्य १.६० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर छन् ।
अघिल्लो दिन उच्च अङ्कले बजार घटेपछि आज बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास फैलिएको बताएका थिए ।
उनले आगामी बजेट रुपान्तरणकारी हुने र बजारको पारदर्शिताका लागि सरकारले काम गर्ने आश्वासन दिएका थिए । बजारमा आत्तिनु नपर्ने आशय दिएका थिए ।










