Logo
Logo

हिमालयन रि इन्स्योरेन्सकी सिइओ बैंग्लोरमा


5.5k
Shares

काठमाडौं । हिमालयन रिको आन्तरिक अवस्थाले संकट गहिरिन थालेको छ । अध्यक्ष शेखर गोल्छाले राजीनामा दिनु र लगानीकर्ताहरूलाई राज्यले भटाभट पक्राउ गर्नुले संकट गहिरिन थालेको हो । यही क्रममा हिमालयन रि इन्स्योरेन्सकी सिइओ उपासना पौडेल उपचारका लागि भारत पुगेकी छिन् ।

अध्यक्ष शेखर गोल्छाले राजीनामा दिइसकेका छन् भने नयाँ नेतृत्व चयन हुन सकेको छैन । प्रमुख कार्यकारी अधिकृत पौडेल उपचारका लागि विदेश गएको अवस्थालाई पनि व्यवस्थापन शून्यताको संकेतका रूपमा व्याख्या गरिएको छ । यस्तो अवस्थामा कम्पनीको सञ्चालन, निर्णय प्रक्रिया र जोखिम व्यवस्थापन थप कमजोर हुने विमा प्राधिकरणमा छलफल हुन थालेको छ ।

प्राधिकरणले दफा १०२ अनुसार सुधारका उपायहरू लागू गर्ने र त्यसले काम नगरेमा दफा १०३ अनुसार विशेष व्यवस्थापन समूह गठन गर्ने विकल्प खुला राखेको छ। स्रोतका अनुसार अर्थ मन्त्रालय र प्राधिकरणबीच कम्पनी समस्याग्रस्त घोषण गर्ने विषयमा छलफल भइरहेको छ । यसले सरकार प्रत्यक्ष रूपमा हस्तक्षेप गर्ने सम्भावना पनि बलियो बनाएको छ ।

विवादास्पद व्यापारी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेसँगै कार्यकारी अधिकृत भारत गएकी थिइन । पौडेल डेढ साताको बिदामा उपचारको लागि भन्दै भारतको बैंग्लोर गएकी हुन् । अनुसन्धानको दायरामा भट्टसँगै अन्य व्यक्तिहरू पनि तानिने सम्भावना देखिएपछि उनी तत्कालका लागि बिदा लिएर बाहिरिएको हो ।

यसअघि ‘जेनजी आन्दोलन’का क्रममा हिल्टन होटलमा भएको तोडफोड र आगजनीपछि बीमा दाबी भुक्तानीमा चलखेल गरेको आरोपमा बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्समाथि कारबाही गरेको थियो । सो प्रकरणमा कम्पनीसहित सीईओ पौडेललाई २ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र एलियन्ट पुनर्बीमा ब्रोकरमाथि पनि कारबाही गर्दै ब्रोकरको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ । यी संस्थाहरूमा दीपक भट्टको लगानी रहेको छ।

हिल्टन होटलको करिब ४ अर्ब रुपैयाँ क्षतिको पुनर्बीमा दायित्वमा नियमविपरीत काम भएको आरोप छ । हिमालयन रिलाई फाइदा पुग्ने गरी नेपाल रिइन्स्योरेन्समा दायित्व सारिएको भन्दै प्राधिकरणले छानबिन गरेको थियो । भट्टले कम्पनीकै चेक प्रयोग गरी शेयर खरिद गरेको र त्यसमा सीईओ पौडेलले सघाएको आशंका पनि गरिएको छ ।

कम्पनीसँग करिब १६ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी बाँकी रहेको र त्यसलाई तत्काल तिर्न सक्ने अवस्थामा नरहेको स्रोतको दावी छ । यसले कम्पनीको तरलता मात्र होइन, समग्र वित्तीय स्वास्थ्य कमजोर बनेको देखाउँछ ।

अझै, कम्पनीको सम्पत्ति भन्दा दायित्व बढी देखिएको प्रारम्भिक निष्कर्षले जोखिमको स्तर थप उचालिएका कारण अध्यक्ष गोल्छा बाहिरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्