Logo
Logo

निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षणद्वारा स्वास्थ्य सचेतना बढाउँदै चाइना ट्रेड सहकारी


252
Shares

काठमाडौं । ६९औँ राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण कार्यक्रम आयोजना गरेको छ।

काठमाडौँ महानगरपालिका-२२ अन्तर्गत गणबहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा शुक्रबार सम्पन्न कार्यक्रममा ४० वर्षमाथिका पुरुषहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। “समयमै जाँच गरौँ, प्रोष्टेट क्यान्सरलाई जितौँ” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा सहकारीका सेयर सदस्य तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको प्राविधिक सहयोग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले प्रदान गरेको थियो भने काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग, वडा नं. २२ कार्यालय, नेपाल व्यापार संघ तथा लायन्स क्लब अफ काठमाडौँ आस्था पुञ्जलगायत संस्थाहरूको सहकार्य रहेको थियो।

यस अवसरमा प्रतिनिधिसभा सदस्य कुल भक्त शाक्यले सहकारीले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। त्यस्तै, काठमाडौँ महानगरपालिका स्वास्थ्य समितिका सभापति तथा वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले स्थानीय तहसँग सहकार्य गर्दै सञ्चालन गरिएका यस्ता कार्यक्रमले स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

सहकारीका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले समयमै स्वास्थ्य परीक्षणले जटिल रोगबाट जोगिन सहयोग पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सञ्चालक समिति सदस्य दीपक सापकोटाले सदस्य तथा स्थानीयवासीको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताउँदै यस्ता पहलले जनचेतना वृद्धि गर्नुका साथै समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे ।

यसै सन्दर्भमा सहकारीले चैत १९ गते टेवहाल मन्दिर परिसरमा बृहत् रक्तदान, २० गते सेयर सदस्यबीच अन्तरक्रिया तथा २१ गते भक्तपुरस्थित मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रमसमेत सम्पन्न गरेको जनाएको छ।

निःशुल्क परीक्षण कार्यक्रमले विशेषगरी ४० वर्षमाथिका पुरुषहरूमा प्रोष्टेट क्यान्सरको प्रारम्भिक पहिचानमा सहयोग पुर्‍याएको छ। स्वास्थ्य जाँचबाट वञ्चित नागरिकलाई प्रत्यक्ष लाभ पुगेको यस कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै रोगको प्रारम्भिक चरणमै उपचार सम्भव बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्