
काठमाडौं । ललितपुर महानगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा समेत अत्यावश्यक सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ । सरकारले शनिबार र आइतबार र्दु दिन सार्वनिक विदा दिएको छ । तर, विशेष गरी आकस्मिक र अत्यावश्यक प्रकृतिका सेवाहरूलाई लक्षित गर्दै ललितपुर महानगरले भने विदाको दिन पनि सेवा दिने निर्णय गरेको हो ।
यस्तो निरन्तर सेवा उपलब्ध हुने क्षेत्रहरूमा नगर प्रहरी बल, दमकल, एम्बुलेन्स, शव वाहन, वातावरण तथा सरसफाइ र एकद्वार पर्यटन सेवा रहेका छन् । यी सेवाहरू जनताको दैनिक सुरक्षा र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले कुनै पनि दिन बन्द नहुने गरी व्यवस्थापन मिलाइएको महानगरले जनाएको छ ।
महानगरपालिकाका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार सम्बन्धित विभाग र शाखामा कार्यरत कर्मचारीहरूलाई समेत तोकिएको समय र बिदाको तालिका अनुसार कार्य गर्न र गराउन निर्देशन दिइएको छ ।











