Logo
Logo

सरकारले स्कुल स्पोर्टस पाठ्यक्रमलाई अभिन्न अङ्ग बनाउने


1.2k
Shares

काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ मा सातै प्रदेशमा अत्याधुनिक र पूर्णतास् पहुँचयुक्त खेल पूर्वाधारहरू निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेको छ । 

The current image has no alternative text. The file name is: balen-1.jpg

राजनीतिक दलहरूसँग सुझाव मागिएको राष्ट्रिय प्रतिबद्धता पत्रमा विद्यालयस्तर देखि नै प्रतिभा पहिचान कार्यक्रम मार्फत स्कुल स्पोर्टसलाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइने उल्लेख छ ।

यस्तो छ खेलकुदमा सरकारको प्रतिबद्धता 

खेलकुदलाई राष्ट्रिय एकता, मानव विकास, राष्ट्रिय गौरव र आर्थिक समृद्धिको मेरुदण्डका रूपमा विकास गरिनेछ । अधुरा रङ्गशालाहरुलाई समयमै सम्पन्न गर्दै सातै प्रदेशमा अत्याधुनिक र पूर्णतास्पहुँचयुक्त खेल पूर्वाधारहरू निर्माण गरिनेछ । खेल प्रशासनमा राजनीतिक नियुक्ति पूर्णतः खारेज गरी पेशागत नेतृत्व र पारदर्शी बजेट व्यवस्था लागु गरिनेछ ।

विद्यालयस्तर देखि नै प्रतिभा पहिचान कार्यक्रम मार्फत स्कुल स्पोर्टसलाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइनेछ । साहसिक खेल र अल्ट्रा म्याराथन जस्ता नेपालका मौलिक सम्भावनाहरूलाई राष्ट्रिय गौरबको रूपमा प्रवर्द्धन गर्दै निजी लगानी प्रोत्साहित गरिनेछ । नेपाललाई साहसिक खेलको गन्तव्यको रूपमा विकास गरिनेछ। अपाङ्गमैत्री खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ । खेलकुद क्षेत्रलाई उद्योगको रूपमा विकास गरिनेछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अपग्रेड गरिनेछ। नेपाललाई दक्षिण एशियाको खेलकुद हबको रूपमा स्थापित गरिनेछ ।

नेपालमा द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेलहरुको आयोजना गरी खेल पर्यटनको प्रवर्द्धन गरिनेछ । खेलकुदलाई सफ्टपावरको रूपमा प्रयोग गरी नेपाललाई क्षेत्रीय र अन्तर्राष्ट्रिय आयोजनास्थलको रूपमा स्थापित गर्दै क्रिकेट कुटनीति मार्फत नेपालको अन्तर्राष्ट्रिय छवि सुधार र कूटनीतिक सम्बन्ध विस्तार गरिनेछ ।

खेलकुदलाई पेशाको रूपमा विकास गरिनेछ । आवधिक रूपमा विद्यालयस्तर, प्रदेशस्तर र राष्ट्रियस्तमा खेल प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट खेलाडिको उत्पादन गरिनेछ । खेलकुद र खेलाडीहरूको प्रशिक्षणलाई उच्च प्राथमिकता दिइनेछ भने खेलकुद प्रशिक्षणलाई वैज्ञानिक, प्राविधिक तथा परिणाममुखी बनाइनेछ । महिला तथा समावेशी खेलकुद प्रवर्द्धन गरिनेछ । खेलाडी खेलबाट पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्न नियमित लिग हुने वातावरण, उचित पारिश्रमिक र पुरस्कार राशी समय मै पाउने व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्