काठमाडौं । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारको निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपीडी सेवा बन्द रहनेछ । तर आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाहरू भने पहिलेझैँ २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा. विकास देवकोटा र १४ वटा पेसागत संगठनका प्रतिनिधिबीच मन्त्रालयमा भएको छलफलपछि सरकारले यो निर्णयमा लचकता देखाएको हो ।
दुई दिन ओपीडी सेवा बन्द हुने भएपछि सरकारले आकस्मिक सेवाको क्षमता भने थप विस्तार गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मी पनि अन्य सरकारी कर्मचारीसरह दुई दिन बिदाको हकदार हुनुपर्ने माग गर्दै आएको थियो । उनीहरूले बढ्दो कार्यबोझ र मानसिक तनावलाई कारण देखाउँदै आन्दोलनको चेतावनीसमेत दिएका थिए ।
यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि स्वास्थ्यकर्मीहरू असन्तुष्ट बनेका थिए ।
मन्त्रालयको उक्त अडानविरुद्ध स्वास्थ्यकर्मीहरूले संयुक्त आन्दोलनको चेतावनी दिएपछि अन्ततः सरकारले अस्पतालहरूमा पनि दुई दिन बिदा लागू गर्ने निर्णय गरेको हो











