Logo
Logo

पीएम कपको फाइनलमा आज आर्मी र सुदूरपश्चिम भिड्दै


189
Shares

काठमाडौं । जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता (पीएम कप) मा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीचको फाइनल खेल आज हुँदैछ ।

९ खेलमध्ये ८ वटा खेल खेलेको त्रिभुवन आर्मी १५ अङ्क सहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो भने ९ खेलमा ६ जित र ३ हारसहित १२ अङ्कसहित दोस्रो स्थानमा रहेर सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेको हो । 

पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

जय ट्रफीमा ६ टिमले खेल्ने:

जय ट्रफी मेन्स इलिट कपमा आगामी संस्करणमा ६ टिमले खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० ले आगामी संस्करणबाट जय ट्रफीको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । 

अर्कोबर्ष त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम, एपीएफ क्लब, मधेश प्रदेश, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश जय ट्रफीका लागि छनौट भएका हुन् ।

यसअघि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष ४ टिमले जय ट्रफी खेल्ने गर्थे भने अब प्रधानमन्त्री कपको शीर्ष ६ टिमले जय ट्रफीमा सहभागिता जनाउने छन् । नेपाल क्रिकेट संघको आयोजनामा हुने बहुदिवसीय एक मात्र क्रिकेट प्रतियोगिताको दायरा बढाइ प्रदेश क्रिकेट टिमलाई पनि सक्दो समेट्ने प्रयास गरिएको हो । 

जय ट्रफीको लिग चरणको खेल दुई दिवसीय र फाइनल खेल तीन दिवसीय हुँदै आएको छ । नेपाललाई लामो फर्म्याट क्रिकेटमा अभ्यस्त बनाउने जय ट्रफी एक मात्र प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहोस्