
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार संघीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन दर्ताका लागि तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि खड्का निर्विरोध भएका हुन् ।
समितिका सदस्य सांसद योगेश गौचन थकालीले शुक्रबार बसेको समिति बैठकमा खड्का निर्विरोध निर्वाचित भएको घोषणा गरिएको जानकारी दिए ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दललाई सघाउने निर्णय गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको समितिमा बहुमत रहेको र विपक्षी दलहरूको समर्थन लेखा समिति सभापतिमा कांग्रेसलाई रहेकाले उनी निर्विरोध भएका हुन् ।
डोटीबाट प्रत्यक्ष निर्वाचित खड्का पुराना राजनीतिज्ञ हुन् । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा २०१४ सालमा जन्मिएका उनले २०३२ सालमा कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट राजनीति सुरु गरेका हुन् ।











