
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले उचालेको छ । शुक्रबार भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको सुदूरपश्चिम उपाधि जित्नबाट चुक्यो ।
सुदूरपश्चिमले दिएको १६२ रनको सामान्य लक्ष्य आर्मीले ३४.२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। आर्मीका बसिर अहमद ४५ र इमरान शेख ४६ रनमा अविजित रहे ।
ओपनर तृतराज दास ३१ रन बनाउँदै पेभेलियन फर्के। कुशल मल्लले १७ रन थपे। भीम सार्की चार र कप्तान विनोद भण्डारी दुई रनमा पेभेलियन फर्के। सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए।
त्यसअघि विरगन्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा १६१ रनमा अलआउट भयो। सुदूरपश्चिमका अशोक धामीले सर्वाधिक ४३ रनको योगदान दिए।
किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन थपे। हेमन्त धामीले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
आर्मीका आकाश चन्द र शाहब आलमले समान तीन विकेट लिँदा बसिर अहमदले दुई र कुशल मल्लले एक विकेट आफ्नो नाममा पारेका छन् ।











