Logo
Logo

नेप्सेमा नयाँ सर्किट ब्रेकर, जुनसुकै समयमा सेयर किनबेच आदेश दिन सकिने


630
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सोमबारबाट सर्किट ब्रेकर सम्बन्धी नयाँ व्यवस्था लागु गर्ने भएको छ।

धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ अनुसार अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ। त्यस्तै, कारोबार अवधिको कुनै पनि समयमा परिसूचक ८ प्रतिशतले घटबढ भएमा भने सो दिनका लागि सम्पूर्ण कारोबार बन्द हुने व्यवस्था गरिएको छ।

हाल बजारमा तीन पटकसम्म सर्किट ब्रेक लगाइने गरिएको छ। हालको व्यवस्था अनुसार बजार खुलेको पहिलो एक घण्टामा ४ प्रतिशतले बजार घटबढ भए सर्किट ब्रेक लागेर २० मिनेट कारोबार राकिन्थ्यो।

बजार खुलेको दुई घण्टाभित्र ५ प्रतिशत बढेमा त्यसपछि ४० मिनेटका लागि कारोबार रोकिने गर्दथ्यो।

जुनसुकै समयमा बजार ६ प्रतिशतले बढे दिनभरका लागि बन्द हुने गर्दथ्यो। कुनै पनि कम्पनीको सेयर मूल्य प्रारम्भिक कारोबार सत्रमा कायम भएको मूल्यभन्दा १५ प्रतिशतसम्म घटबढ हुने गरी सो दिनभर कारोबार गर्न पाइने व्यवस्था पनि थप गरिएको छ।

सूचीकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएको हो।

प्रारम्भिक कारोबार सत्रमा भने मूल्यमा ५ प्रतिशतसम्म मूल्य परिवर्तनको आधारमा अर्डर राख्न पाइने व्यवस्था गरिएको छ। यसरी कायम हुने मूल्यको आधारमा तीन प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही सेयर किनबेच आदेश गर्नुपर्नेछ। यसअघि प्रारम्भिक कारोबार सत्रमा २ प्रतिशत म्म मूल्य परिवर्तनको आधारमा अर्डर राख्न पाइन्थ्यो।

त्यस्तै, अब बजार बन्द भएपछि पनि कारोबारको आदेश प्रविष्टि गर्न पाइनेछ। नेप्सेले निर्धारण गरेको कारोबार समय अघि वा पछि ग्राहकले कारोबार सदस्यको प्रणालीमा कारोबारका लागि आदेश दिएमा त्यस्तो आदेशलाइ सम्बन्धित कारोबार सदस्यले समय प्राथमिकता क्रममा राख्ने व्यवस्था गरी कारोवार समय शुरु हुनासाथ नेप्सेको प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ।

प्रारम्भिक कारोबार सत्र र नियमित सत्रको लागि मूल्य परिवर्तनसम्बन्धि तोकिएको सीमा अनुसार नै यस्तो विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्