Logo
Logo

कहिल्यै नभुल्ने त्यो चड्कन


छविरमण सिलवाल

693
Shares


मान्छे जन्मँदै भाग्यसँगै लिएर आएको हुन्छ । भाग्यलाई कर्ममा बदल्नेहरूको जीवन सुखी हुन्छ । भाग्यमा भर परेर कर्म नगर्नेहरूको जीवन ढलपल भएको देखिन्छ । जीवन एक किताब हो, मान्छेका प्रत्येक पाइलासँगै संघर्षका पानाहरूसँगै पल्टन थाल्छन् । जीवनका घटना उपघटनाक्रमले हरेक दिन केही न केही सिकाइरहेका हुन्छन् । यही सिकाइले नै हाम्रो जीवनलाई मार्ग निर्देशन गर्छ । प्रत्येक मान्छेका जीवनका आ–आफ्नै भोगाइ हुन्छन्, ती भोगाइलाई लिपिबद्ध गर्दा धेरैलाई उत्साह भर्ने काम गर्छ । मैले पनि मेरा जीवनका यस्तै भोगाइ लिपिबद्ध गर्ने कोसिस गर्दै छु ।

‘जीवन एक कला हो, त्यसमा हाम्रो जन्म पहिलो कला हो भने जीवन दोस्रो कला हो । पहिलो कला सृष्टि हो । दोस्रो कला स्थिति हो । जन्मपश्चात् जीवनलाई सफल बनाउनु महान् वीरता हो । जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो ।’

महेश्वर बनेपालीज्यूका यी हरफहरूले जीवनको परिभाषा दिएका छन् । हरेक मान्छेका जीवनप्रति हेर्ने दृष्टिकोण फरकफरक हुन्छन्, लक्ष फरक हुन सक्छन्, जिउने कलामा एकरुपकता नहुन सक्छ, तर जन्मने र मर्ने प्रक्रिया एउटै हो । मान्छे जन्मेपछि मर्नै पर्छ । हरेक मान्छेले कर्मलाई उच्च स्थानमा राखेर कामलाई सम्मान गर्न सक्यो भने जीवनको लक्ष्य र सार्थकता प्राप्त गर्न सकिन्छ, यो मेरो भोगाइबाट प्राप्त भएको ज्ञान हो ।

अहिले मान्छे आफ्नो काम, कर्तव्य के हो, भन्नेमा अलमलिएको देखिन्छ । मान्छे आफ्नो जीवनको उद्देश्य तथा कर्तव्यबाट च्यूत भएर अहम्को पर्खाल चढ्न थालेका कैयौँ उदाहरणहरू वर्तमान समयमा देख्दै र भोग्दै छौँ । यही भोगाइका केही पाटाहरूमा मेरो जीवन कहिले उर्वर बनेको छ, कहिले रुख्खासुख्खा, यी सबैले जीवनलाई सार्थक बनाएको छ । हन्डर र ठक्करबिना मान्छे लक्ष्यमा पुग्न सक्दो रहेनछ भन्ने ज्ञान पलाएको छ ।

मैले जीवनका यही पाटाहरूलाई शब्दमार्फत व्यक्त गर्न खोज्दै छु । लेख्ने खुराकहरू धेरै छन् जीवनका । सुखका भन्दा पनि दुःख र संर्घषका पाटाहरू जीवनमा लमतन्न भएर रहेका छन् । कहाँ र कसरी सुरु गरौँ, भन्ने दुविधामात्र हो । तर, लेख्दै गर्दा विगतका घटनाहरू आफैँ शब्दमा उनिन पुग्छन्, जीवनको परीक्षा प्रत्येक क्षण–क्षणमा दिइरहेको हुन्छु, जस्तो लाग्छ ।

अहिलेका मान्छेमा आदर, सत्कार र मानवीयताका भावनाहरू प्रायः देखिँदैनन् । संसार पैसा र शक्तिमा कुदिरहेको छ । एकथरि मान्छेको बुझाइ छ, पैसा भएपछि शक्ति आफैँ आउँछ, त्यसैले उनीहरू पैसाको पछि कुदिरहेका छन् । पद–प्रतिष्ठामा पुगेकाहरू पुस्तौपुस्तालाई पुग्ने अकूत धन आर्जन गर्न व्यस्त छन् ।

जीवनमा पाएको पद–प्रतिष्ठालाई समाजमा बसेर उत्तरार्धमा समाज बदल्नुपर्ने व्यक्तिहरू धमाधम जेलको हावा खाइरहेका छन् । यो उनीहरूको नराम्रो कर्मको फल हो । हामीले धान फलाउन धान नै रोप्नुपर्छ, कोदो रोपेर धानको आशा गर्नु त्यो मूर्खता हो । हो, वर्तमानका मान्छेहरू पनि त्यही मूर्खता गरिरहेका छन् ।

कसैलाई कसैमाथि विश्वास छैन । मेरो बुबाको भाषामा भन्ने हो भने ‘यो कलि धपक्क बलेको अवस्था हो ।’ पुराना कुराहरूलाई जोड्न खोज्छु, वर्तमानका अवस्थाहरूले छोड्दैनन्, हुन त हामी बाँचेको युगको कुरा हो, पचासको दशकमा टेकिरहेको छु, यो अवधिसम्म जिन्दगीले धेरै भोगाइसकेको छ । धेरै अनुभव बटुलिसकेको छु, जीवनको यात्रा छोटिँदै गएको छ, तर म आफूलाई सधैँ ऊर्जावान् नै ठान्छु । सधैँ बिहान ब्युँझँदा नयाँ जीवन प्राप्त गरेको ठान्छु ।

आखिर हामीले भोगेका सबै सबै यही छोडेर जाने हो, कृति येश बनाउन सकियो भने, युगले सम्झने छ, भन्ने भोक कहिलेकाहीँ जाग्छ, त्यही भोक शब्दहरूमार्फत यता पोख्ने गरेको छु । प्रकृतिको नियमको परिधि कसैले कुनै पैसा र पावरले मिच्न पक्कै सक्दैन । हो यही परिधिभित्र रहेर आफ्नो कर्तव्य पालना गरिरहनु उत्तम ठान्छु ।

मानिस र प्रकृतिको सहचर्य मानिसको सृष्टिसँगै सुरु हुन्छ । तर सुरुमा उसको स्वचेतना विकसित भएको थिएन । चेतना विकसित नहुन्जेल मान्छेलाई प्रकृतिको वास्तै थिएन । जबजब मान्छेलाई चेतनाको विकास हुनेक्रम बढ्यो अनि प्रकृति हाम्रो लागि नै रहेछ भन्ने ज्ञान बढ्न थाल्यो । प्रकृतिका अनुपम सौन्दर्यहरूसँग सहकार्य गर्दै अघि बढ्न थाल्यो, उसैको उपलब्धिहरूलाई हामीले पनि पालना गर्दै आज यहाँ जीवन जिउने क्रममा उभिएका छौँ । उभिइरहने छौँ ।

यही प्रकृतिको काखमा हामी प्रकृतिको नियम परिधिभित्र रहेर आफ्नो जीवनको अन्तेम पलको पर्खाइमा लामबद्ध भएकछौं । सानोमा आफूले भोगेका, गरेका कामहरू सम्झँदा अहिले कता कता रोमाञ्चित हुने गर्दछु, कहिले कही लज्जावोध पनि हुने गर्दछ । कस्तो बेला हो त्यो ? अहिले मेरो छोराको बाल्यकाल र मेरो बाल्यकालको तुलना गर्दछु । एक छेउ पनि मिल्दैन उसको र मेरो ।

कम्प्युटर र टेलिभिजन कहाँ थियो र त्यसवेला गाउँको ठूला ठालू भनाउँदाहरुले रेडियो भिरेको देख्दा कस्तो रहर लाग्थ्यो, अहिले रेडियोको त जमाना नै छैन भने पनि हुन्छ । तर मलाई रेडियोमा बोल्ने भोक जागेको छ, वि.स.२०७५ भाद्र देखि नियमित कार्यक्रम प्रस्तोता भएर बोलिरहेकोछु रेडियो अन्नपूर्ण नेपाल ९४ एफएममा । एफएममा प्रवेशको पनि रोचक कथा छ, यो प्रसङ्ग अर्को आलेखमा प्रस्तुत गर्नेछु ।

त्यसबेला डण्डी–बियो, कपर्दी, निकै खेलिन्थ्यो । अहिले ती खेलहरू पनि गाउँमा खेल्न छोडिसकेको देख्दा आफ्नो मौलिकपन हटेको महसुस भएको छ मलाई । हामीले मोजामा कपडा हालेर बनाएको बल धेरै खेल्यौँ । नाङ्लाको बिड र पाइपको पाङ्ग्रा बनाएर कति गुडाइयो भनिसाध्य छैन । हाम्रा यी खेलौनाहरु अहिले लोप भइसकेछन् । तर समयको परिवर्तनसँगै भएका विकासले पनि राम्रै गरेको छ । यही समयको नियम हो । हिजो हाम्रा पुर्खाहरू कन्दमूल खाएर रुखका बोक्राहरू लागउँथें, आज हामी त्यही रुखका बोक्रा र रुखमा नै फलेका अनेकौँ चिजहरूबाट बनेका लुगाहरू लगाउँछौँ । यो राम्रो कुरा हो, समय घुमिरहन्छ, कुमालेको चक्र जस्तै, हामी पनि घुमिरहेछौँ समयको घट्टमा फनफनी ।

त्यो समय स्वर्णिम समय थियो, आफ्नो अर्काको केही थाह हुँदैन थियो, सबै समान लाग्ने, अहिले सम्झँदा मिठो अनुभूति हुन्छ । खाली खुट्टा पूरै गाउँ हिँडिन्थ्यो । कसैको घरमा कुनै कार्जे भएमा अहोरात्र खटेर काम गरिन्थ्यो । सबैको सहृदयी भावना । गा¥योसा¥होमा सबै एक हुने । युवा शक्ति गाउँमै थिए । दुःख, सुख सबैको एउटै हो भन्ने भावना थियो । पर्म, मेलापात घाँस दाउरा गर्न सवैसँगै कस्तो रमाइलो ! त्यो क्षण अहिले सम्झँदा पनि निकै आनन्द लाग्ने गर्दछ ।

हुन तः गाउँ छोडेको धेरै वर्ष भएपनि बुबाले छोडेका नासोहरू आजपनि छदैँछन् गाउँमा । बेला बेलामा घर पुग्दा यी यादहरु मेरो मानसपटलमा ठोेक्किने गर्दछ । परिवर्तन धेरै भएको छ र, भावना एउटै छ आज पनि हाम्रो गाउँमा । यही भावनाले गर्दा म मेरो गाउँप्रति निकै मोहित भएको छु । म मेरो गाउँको गर्व गर्छु । फूर्सदिला क्षणहरुमा म आफ्नै गाउँमा रमाउँने गर्छु । माधबप्रसाद घिमिरेको शब्द तथा जनार्दन सम, लसमित राई र यशोदा पराजुलीको स्वरमा रहेको –‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो…….।’ यी कालजयी गीत बजिरहेको छ, यही धुनमा म मेरो गाउँ र बाल्यकालको सम्झनामा डुविरहेको छु ।

हुन तः पहिले र अहिलेकोमा निकै अन्तर छ मेरो गाउँ । पहिले अत्यावश्यक सामानहरू लिनको लागि धुलिखेल नै पैदल आउनु पर्दथ्यो, अहिले घरघरमा मोटर पुग्छ । भकुन्डेमा ठूलै बजार छ । कलेज तथा जिल्ला स्तरीय अस्पताल खोलिएको छ । बनेपा बर्दिबास सडकको निर्माण सकिएर यातायात सुचारु भएको धेरै वर्ष भएको छ ।

यस कारण मेरो गाउँले विकासको गतिलाई तीव्र रूपमा अगाडी बढाएको छ । यो गौरवको कुरा हो । अहिले गाउँ होइन सहर भएको छ । गाविस होइन, नगरपालिका भएको छ, नमोबुद्ध नगरपालिका । म मेरो गाउँको कल्पनामा भुल्दा यस्तै कुराहरूले मेरो मन–मस्तिष्कलाई एक किसिमको आनन्द प्राप्त हुन्छ र आत्मबल बढेको आभास हुन्छ ।

आफ्नो बाल्यकालको सम्झनाले निकै रोमाञ्चित बनाउँछ । तर, दुःखको कुरा गाउँ रित्तिइसकेको छ । सहर मौलाएको छ । यो सबै समयको खेल हो । समयको परिधिलाई कसैले रोकेर रोक्न सकिन्न । समय अनुसार हामी पनि परिष्कृत हुँदै जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्