काठमाडौं । रुवान्डालाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा लगातार दोस्रो निकालेको छ ।

बुधवार भएको खेलमा नेपाली टोलीले रुवान्डालाई दुई विकेटले पराजित गरेको हो । पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा भने इटालीलाई ५० रनले हराएको थियो ।
रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपाली टोलीले दुई बल अगावै आठ विकेटको क्षतिमा भेट्टाएको हो ।नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४८ रनको योगदान दिइन् ।
विन्दु रावल १० र कप्तान इन्दु बर्मा एक रन बनाउँदा पेभेलियन फर्के । उपकप्तान पूजा महतो १३ रनमा आउट भइन् । रुविना क्षेत्री दुई, कविता कुवँर शून्य, कविता जोशी र रुवि पोडार एक–एक रनमा पेभेलियन फर्के ।
त्यसअघि रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियम ओभल ‘बी’मा टस जितेर ब्याटिङ गरेको घरेलु टोली दुई बल अगावै ८८ रनमा अलआउट भयो ।
रुवान्डालाई कम स्कोरमा रोक्न नेपालका लागि रचना चौधरीले तीन विकेट लिइन् । पूजा महतो र कविता कुँवरले समान दुई विकेट लिए । मनिषा उपाध्याय र रिया शर्माले एक-एक विकेट आफ्नो नाममा गरे ।
नेपालले शुक्रवार भानुआटुसँग खेल्नेछ । आइतबार अमेरिकासँग खेल्ने तालिका छ । यसैगरी २८ अप्रिलमा रुवान्डासँग, ३० अप्रिलमा भानुआटासँग र अन्तिम खेल १ मेमा इटालीसँग खेल्ने तालिका छ ।
च्यालेन्ज ट्रफी प्रतियोगिता आगामी १ मेसम्म रुवान्डामा चल्नेछ । च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा सहभागी छन् ।











