
काठमाडौं, ७ मंसिर । सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको छ । त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ । १२ वर्ष माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ ।
‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले भने, ‘सबैभन्दा पहिला कुन खोप आउँछ ? त्यो खोप कति महँगो हुन्छ ? त्यसका आधारमा पनि बजेट भर पर्छ ।’ प्रवक्ता डा. गौतमका अनुसार अमेरिका, बेलायत, चीन, रुसलगायत मुलुकमा परीक्षण भइरहेका खोपमध्ये प्रभावकारिता र गुणस्तरका आधारमा खरिद गरिनेछ ।
निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकायका साथै विकास साझेदारको पनि सहयोग लिने योजना छ । ‘सम्बन्धित मुलुकको सरकारसँग समन्वय गर्ने र नेपालमा उपलब्ध गराइने आर्थिक सहयोगको केही प्रतिशत खोपलाई छुट्ट्याइदिन आग्रह गर्नुपर्ने कि भन्ने विभिन्न मोडालिटीमा भइरहेको प्रवक्ता गौतमलाई उदृत गर्दै अन्नपूर्ण पोष्ट समाचार छापेको छ ।














