Logo
Logo

नेपाली सेनाले शुक्रबारदेखि खेलकूद गतिविध सुरु गर्दै


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, ८ मंसिर । नेपाली सेनाले यो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो । सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई आगामी शुक्रबारदेखि निरन्तरता दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
विश्व शान्तिकार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रूपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो । सेनाले खेलकूदलाई तीव्रता प्रदान गर्ने विषयमा नीतिगत व्यवस्थाका लागि मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वय गरिरहेको जानकारी दिएको छ । कोरोनाका कारण लकडाउनपछि हालसम्म केन्द्रले कुनै खेलकूद सञ्चालन गरेको छैन ।
सेनाले पहिलो चरणमा सागमा सहभागी अन्तर्राष्ट्रियस्तरका खेलाडी, सेनाकै प्रशिक्षक, विश्वकप चरणमा छनोट भएका खेलाडी, दोस्रो चरणमा प्रधानसेनापति ट्रफीमा सञ्चालन हुने विधाका राष्ट्रिय खेलाडी र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वयमा हुने खेलकूदका खेलाडीलाई प्रशिक्षण दिनेछ ।
कोरोनाका कारण स्थगन भएका प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत अन्तर्राष्ट्रिय ट्राई–एड्भान्चर, उच्चपर्वतीय ट्राई– एड्भान्चर, अन्तर्राष्ट्रिय महिला फुटबल, राष्ट्रिय भलिबल, खुल्ला म्याराथन दौड र प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता अनुकूल मिलाएर सञ्चालन गर्ने सेनाले जनाएको छ ।
सेनाले ३३ विधाका खेलमा सहभागिता जनाउँदै आएकामा एथलेटिक्स, फुटबल, बक्सिङ, तेक्वान्दो, आर्चरी, ब्याडमिन्टन, र्याफ्टिङ, महिला भलिबल, सुटिङका खेलाडीलाई कोभिड–१९ विरुद्ध सुरक्षात्मक उपाय अपनाएर लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकूद केन्द्रमा प्रशिक्षणमा राख्ने छ ।
धादिङमा सञ्चालन हुने ट्राई एडभेन्चरको रनिङ, साइक्लिङ र र्याफटिङमा सहभागी हुन स्वदेशी तथा विदेशी खेलाडीलाई पत्राचार गरिसकिएको जानकारी दिइएको छ ।
‘१३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता’मा सेनाका खेलाडीले २३ स्वर्ण, ३१ रजत र ४९ कास्य अर्थात् ५० प्रतिशत पदक जित्न सफल भए । समग्र मुलुककै खेलकूद क्षेत्रको विकास र विस्तारका लागि नेपाली सेनाले ‘सैनिक खेलकूद भिजन, २०३०’ समेत तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्