काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नेटवर्क नक्सामा भएको त्रुटिप्रतिमाफी मागेको छ ।

एयरलाइन्सले सार्वजनिक गरेको उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्साङ्कन त्रुटि रहेको स्वीकार गर्दै सो सामग्रीले नेपाल सरकार वा कम्पनीको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ ।
‘हामीले हालै हाम्रो सामाजिक सञ्जालमार्फत साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हार्दिक रूपमा क्षमाप्रार्थी छौँ । उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्साङ्कन त्रुटिहरू रहेका थिए, जसले नेपाल सरकार वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्,’ एयरलाइन्सले भनेको छ ।
एयरलाइन्सका अनुसार विवादित पोस्ट तत्काल हटाइएको छ भने यस्ता त्रुटि पुनः नदोहोऱ्याउन आन्तरिक समीक्षा प्रक्रिया सुरु गरिएको छ ।
एयरलाइन्स भनेको छ, ‘हामीले उक्त पोस्ट तुरुन्तै हटाएका छौँ र भविष्यमा यस्ता सामग्रीहरू उच्चतम शुद्धता मापदण्डअनुसार तयार पारिने सुनिश्चित गर्न आन्तरिक समीक्षा गरिरहेका छौँ ।’
एयरलाइन्सले क्षेत्रका छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिने उल्लेख गर्दै उक्त पोस्टका कारण कसैलाई असुविधा वा अपमान भएको भए त्यसप्रति गहिरो खेद व्यक्त गरेको छ। उसले भनेको छ, ुहामी क्षेत्रका छिमेकी तथा मित्र राष्ट्रहरूसँगको हाम्रो सुदृढ सम्बन्धलाई उच्च महत्त्व दिन्छौँ र यस पोस्टले कुनै असुविधा वा अपमान पुर्याएको भए त्यसप्रति गहिरो खेद प्रकट गर्दछौँ ।ु











