Logo
Logo

शुक्रवारबाट थप सुकुम्वासी बस्तीमा डोजर चल्ने


441
Shares

काठमाडौं । सरकारले गत शनिवार र आइतबार काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रमा डोजर चलाएर त्यहाँ बसोबास सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई हटाएको छ ।

सरकारले सोक्षेत्रबाट झन्डै १० हजार जना सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई हटाएको हो । शुक्रवारबाट थप सुकुम्वासी बस्तीमा डोजर चलाउने सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको छ । जिल्ला प्रशासनले वैशाख १८ गते शुक्रवार बिहान ७ बजेबाट जिल्लाभर एकैपटक विभिन्न स्थानका बस्ती खाली गराउने कार्य सुरु हुने जनाएको छ । 

सहरी विकास मन्त्रालयले २०७९ फागुनमा निकालेको प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बस्ने सुकुम्वासी तथा अव्यवस्थित घरपरिवार सङ्ख्या करिब ३५ सय छ । तीमध्ये अहिलेसम्म डोजर चलाइएका सुकुम्वासी बस्तीमा करिब १८०० परिवार बसोबास गर्थे ।

जिल्ला प्रशासनले भने अनुसार बाँकी बचेका बस्तीमा शुक्रवारबाट एकैपटक डोजर चलाउँदा थप १७ सय परिवार विस्थापित हुने छन् ।  सूचना जारी भएसँगै काठमाडौं महानगरपालिका–३ खाडीपाखा, रानीबारी, नारायणटोल क्षेत्रका सुकुम्वासी डेरा सर्न लागेका छन् ।

काठमाडौं उपत्यकाभित्र कागेश्वरी मनोहरा नगरपालिकामा ९०, बुढानीलकण्ठ नगरपालिकामा १३८, ललितपुर महानगरमा १७, गोदावरी नगरपालिकामा २१५, मध्यपुरथिमि नगरपालिकामा ७७३, काठमाडौं महानगरपालिकाभित्र २२२६ गरी ३४५९ अव्यवस्थित परिवार रहेको सरकारी अभिलेखमा भेटिन्छ।

भूमि समस्या समाधान आयोगको लगत हेर्दा काठमाडौं जिल्लामा १ लाख २५ हजार २३६ जनाभन्दा बढीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका रूपमा विवरण टिपाएका छन्।

काठमाडौंका सुकुम्वासी बस्तीमा गत शनिवार र आइतबार डोजर चल्दा विस्थापित हुनेहरूमध्ये बुधवारसम्म १२ सयभन्दा बढी परिवार सरकारको सम्पर्कमा आएका छन् । त्यसमा करिब ५ हजार जना सदस्य छन् । उनीहरूले त्रिपुरेश्वरको दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएर आफ्नो नाम र विवरण टिपाएका छन् । अधिकारसम्पन्न विकास सभ्यता एकीकृत विकास परियोजना र उपत्यका विकास प्राधिकरणले छुट्टाछुट्टै डेस्क राखेर तथ्याङ्क संकलन गरेका थिए ।

अहिलेसम्म सरकारको सम्पर्कमा आएकामध्ये धेरैजसो आफन्त, छरछिमेकीकहाँ वा आफै डेरा खोजेर बसेका छन् । डेढ सय परिवार भने आफ्नो जाने ठाउँ कतै नभएको भन्दै सरकारकै आश्रयमा छन्। तीमध्ये ६० भन्दा बढी परिवार कीर्तिपुरस्थित राधास्वामी सत्संगको खुला हलमा निर्माण गरिएको होल्डिङ सेन्टरमा छन् । डेढ सय परिवार बालाजु, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलमा आश्रित छन् ।

प्रतिक्रिया दिनुहोस्