
काठमाडौं । सुकुम्वासीहरूले मधेश प्रदेश सरकारको मुख्य गेटमै धर्ना दिएका छन् । उचित बासस्थानको व्यवस्था नगरी घर भत्काइएको भन्दै उनीहरूले आज जनकपुरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
‘पहिले पुनर्वास, त्यसपछि मात्र हटाउने’ मागसहित आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले मधेश प्रदेश सरकारका मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीहरूको निवास रहेको परिसर घेराउ गर्दै धर्ना दिएका छन् ।
धनुषामा रहेको ‘गुठी कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समिति’ गठन गरेर सुकुम्वासीहरू लामो समयदेखि आन्दोलनरत छन् । संघ र प्रदेश दुवै सरकारसँग पुनर्वाससहितको व्यवस्थित बसोबासको माग गरेका उनीहरुले सरकारले सुकुम्वासीलाई उठिबास लगाएको आरोप लगाउँदै प्रधानमन्त्री वालेन शाहको राजीनामा समेत माग गरेका छन्।











