
काठमाडौं । सरकारले अतिक्रमित सरकारी जग्गा खाली गराउन ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको पहिचान गरी ती संरचनाहरू हटाउन निर्देशन दिएको हो ।
मन्त्रालयले जिल्लास्तरमा रहेका सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमित सार्वजनिक जग्गाको लगत संकलन गर्न र त्यस्ता जग्गा खाली गराउने विस्तृत योजना मन्त्रालयमा पठाउन भनेको छ ।
शाखा अधिकृत कृष्ण देवकोटाद्वारा जारी पत्रमा जिल्लाबाट पठाइएका योजनाहरू मन्त्रालयले स्वीकृत गरेपछि अतिक्रमण हटाउने कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध र अन्य प्रशासनिक सहजीकरण गृह मन्त्रालयले गर्ने उल्लेख छ ।
मन्त्रालयले यसअघि २०८२ चैत २० गते पनि सार्वजनिक जग्गा संरक्षणका सम्बन्धमा परिपत्र गरेको स्मरण गराउँदै सोही कार्यलाई थप प्रभावकारी बनाउन सचिवस्तरको निर्णयबाट यो नयाँ निर्देशन जारी गरेको हो।











