काठमाडौं । इरानले मध्यस्थकर्ता देश पाकिस्तानमार्फत अमेरिकासँगको वार्ताका लागि नयाँ प्रस्ताव ल्याएको छ । वार्ताको मध्यस्थकर्ता रहँदै आएको पाकिस्तानलाई इरानले आफ्नो पछिल्लो प्रस्तावको पाठ बुझाएको इरानको आधिकारिक समाचार एजेन्सीले जनाएको छ ।

नयाँ प्रस्तावमा के के बुँदा समावेश छन् भन्नेबारेमा तत्काल स्पष्ट छैन । इरान र अमेरिकाबीच यसअघि एक चरणमा मात्र वार्ता सम्पन्न भएको थियो । त्यो वार्ता ठोस निष्कर्षमा पुग्न सकेको थिएन । अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको भन्दै वार्तामा सहभागी हुन इरानले नमानेपछि र इरानले मुख्य स्ट्रेट अफ हर्मुजलाई धेरै हदसम्म बन्द राखेको भन्दै अमेरिकाले यसलाई खोल्न दबाब दिएपछि वार्ता रोकिएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघीचीले हिजो मात्रै साउदी अरब, कतार, टर्की, इराक र अजरबैजानका समकक्षीसँग टेलिफोन गरी इरानले युद्ध अन्त्य गर्न गरिरहेको पछिल्लो पहलबारे जानकारी गराएका थिए । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न इरानले गरेको नयाँ प्रस्तावलाई अस्वीकार गरेका छन् ।
इरानको नयाँ प्रस्ताव स्वीकार गर्न नसकिने ट्रम्पले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फ्लोरिडामा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वार्ताबारे इरानको नेतृत्व नै अलमलमा परेको टिप्पणी गरेका छन्। यसअघि अप्रिल २६ र २७ तारिखमा पनि इरानले आफ्नो प्रस्ताव पेस गरेको थियो, जुन ट्रम्पले अस्वीकार गरेका थिए ।
इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने ट्रम्पको अडान यथावत् छ ।











