Logo
Logo

इरान युद्धका विषयमा विवाद भएपछि जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका


819
Shares

काठमाडौँ । इरान युद्धका विषयमा युरोपसँग मतभेद बढ्दै जाँदा अमेरिकाले जर्मनीबाट आफ्ना ५ हजार सेना फिर्ता गर्ने घोषणा गरेको छ।

रोयटर्सका अनुसार जर्मन चान्सलर फ्रेडरिक मर्जसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको विवाद भएपछि अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले शुक्रबार नेटो सहयोगी जर्मनीबाट ५ हजार सेना फिर्ता बोलाउने निर्णय गरेको हो।

सोमबार जर्मन चान्सलर फ्रेडरिक मर्जले भनेका थिए, ‘इरानीहरूले दुई महिना पुरानो युद्ध अन्त्य गर्न वार्तामा अमेरिकालाई अपमानित गरिरहेका छन्, वासिङ्टनले कस्तो निकास रणनीति अपनाइरहेको छ मैले बुझ्न सकिरहेको छैन।’

त्यसपछि रिसाएका ट्रम्पले जर्मनीबाट सेना फिर्ता बोलाउने चेतावनी दिएका थिए।

नाम नछाप्ने सर्तमा पेन्टागनका एक वरिष्ठ अधिकारीले भने, ‘जर्मनीका हालैको अभिव्यक्ति गलत र वाहियात छ।’ ‘राष्ट्रपतिले त्यो प्रतिउत्पादक टिप्पणीमा सही प्रतिक्रिया दिइरहेका छन्’, ती अधिकारीले थपे।

सेना फिर्ता आगामी ६ देखि १२ महिनासम्म पूरा हुने अपेक्षा गरिएको पेन्टागनले जनाएको छ। जर्मनीमा अमेरिकी सेनाका झन्डै ३५ हजार कर्मचारी कार्यरत छन्, जुन युरोपका अन्य कुनै ठाउँ भन्दा बढी हो।

ती अधिकारीका अनुसार ५ हजार सेना फिर्ताले युरोपमा अमेरिकी सेनाको स्तर लगभग २०२२ भन्दा अघिको स्तरमा फर्काउनेछ। अर्थात् रुसले युक्रेनमा आक्रमण गर्नुअघिको अवस्थामा ल्याउनेछ।

प्रतिक्रिया दिनुहोस्