काठमाडौँ । इजरायली सेनाले आइतबार दक्षिणी लेबननका सहर र गाउँका बासिन्दालाई तुरुन्त घर खाली गर्न र कम्तीमा हजार मिटर टाढा खुला क्षेत्रमा सर्न उर्दी जारी गरेको छ।

रोयटर्सका अनुसार, सेनाले दक्षिणी लेबननका ११ सहर र गाउँमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका द इन्डिपेन्डेन्टका अनुसार इजरायली सेनाले यो हमला हेजबुल्लाहविरुद्ध गर्न लागिएको दाबी गरेको छ।
हेलबुल्लाहले युद्धविराम उल्लंघन गरेको आरोप इजरायली सेनाले लगाएको छ । चेतावनी दिँदै उसले भनेको छ, ‘हेजबुल्लाह लडाकु वा तिनका स्थाननजिक भेटिने जो कोही खतरामा पर्न सक्छ।’
इजरायलले दक्षिणी लेबननमा बारम्बार हवाई आक्रमण गरिरहेको छ । इजरायली सेनाले लेबननको दक्षिणी भागमा भूमि कब्जा गरेका छन्। हेजबुल्लाहका संरचना भनिएका धेरैवटा भवन ध्वस्त पारिएको इजरायलले जनाएको छ।
इरान-समर्थित सशस्त्र समूह हेजबुल्लाहले पनि उत्तरी इजरायलमा इजरायली सेनाविरुद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेको छ।











