काठमाडौं । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुँदैछ । यो यस सिरिजको अन्तिम खेल हो । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजेदेखि सुरु हुँदैछ ।

जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।
लिग-२ मा भने ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने २३ खेलमा १६ अङ्क रहेको छ र सातौँ स्थानमा रहेको छ ।
त्यस्तै एकदिवसीय खेलमा नेपाल र ओमान अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।
यो सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् ।












