काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५ बिन्दुमा पुगेको छ, जुन यस दिन र साताकै उच्च स्तर हो ।

बजार खुलेदेखि नै सकारात्मक लय कायम रहँदा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । आज २३५ कम्पनीको मूल्य बढ्दा २६ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार २ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।
व्यापार समूह बाहेक सबै उपसूचक हरियालीमा देखिएका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्सलगायत समूहमा वृद्धि भएको छ ।












