Logo
Logo

रास्वपामा तीन गुटको तीनथरि विचार


4.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो प्रशिक्षण भेलामा सभापति रवि लामिछानेले रास्वपामा कुनै गुट नभएकोले गुटको हल्ला नगर्न चेतावनी दिए पनि रास्वपाभित्र तीन गुट प्रष्ट देखिएका छन् । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, र विवेकशील साझाबाट रास्वपा छिरेका समीक्षा बाँस्काटाको गुट रहेको बताइन्छ ।

यो तीनवटा गुटमध्ये पार्टीभित्र सभापति लामिछानेको गुट सबैभन्दा बलियो रहेको छ । यो गुटले सिंगो रास्वपालाई चलाउने हैसियत राख्छ । सरकारमा भने सभापति लामिछाने गुटको उपस्थिति कमजोर रहेको छ । जसलेगर्दा बेलाबखत असन्तुष्टि बाहिर आउने गरेका छन् ।

विगतका सरकारले अध्यादेश ल्याउँदा चर्कोरुपमा आलोचना र विरोध गर्दै आएका रास्वपा नेताहरू अहिले त्यसको बचाउमा उत्रिएर दोहोरो चरित्र प्रदर्शन गरेका छन् । प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले संसद् बैठक रोकेर अध्यादेश ल्याएपछि त्यसको चौतर्फी विरोध भइरहेको बेला लामिछाने समूहले बचाउमा उत्रिएको थियो ।

रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले विगतमा अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्नका लागि ल्याउने अभ्यास भएको भए पनि अहिले त्यस्तो गर्नका लागि नभएको बताएर बालेन सरकारको बचाउ गरेका थिए । तर संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेन भने उपस्थित थिएनन ।

अध्यादेश, सरकारी नियुक्ति र सरकार सञ्चालनका विविध प्रकृया बारे पछिल्लो समय रास्वपाभित्र आन्तरिक ध्रुवीकरण तीव्र बन्दै गएको छ । पार्टीभित्र कम्तीमा तीनवटा स्पष्ट धार वा गुट देखिन थालेपछि यसको संगठनात्मक एकता र भविष्यको रणनीतिमा प्रश्न उठ्न थालेको छ । पार्टीका सभापति लामिछाने वरिपरि केन्द्रित पहिलो गुटलाई ‘मुख्यधार नेतृत्व’ का रूपमा हेरिएकाले बालेन समूहले पनि यसलाई नजिकबाट नियालिरहेको छ । तर, बालेनमाथि कुनै प्रकारको शंका उत्पन्न नहोस् भनेर सभापति लामिछानेले रास्वपामा कुनै गुट नभएको बताएका थिए ।

बालेनसमूह भने ‘संस्थागत सुधारवादी’ धारका रूपमा चिनिन थालेको छ । सरकारले सुधारको काम गरेको देखाउन खोजेर सुकुम्बासीलाई हटाएको छ । जसले गर्दा रास्वपामा विवादको जड देखापरेको छ । लामिछाने समूहले तत्काल सुकुम्बासीहरुलाई हटाउन चाहेको थिएन, तर बालेन नेतृत्वको सरकारले हटाएपछि पार्टीलाई समेत अप्ठेरोमा पारेको पार्टीको बुझाई रहेको छ । बालेनको एकाधिकार सोचमा पार्टीले लगाम लगाउन नसक्ने बुझाई लामिछाने समूहको छ । सरकारमा व्यक्तिवादी शैली देखाएका बालेन समूहले रवि समूहलाई खासै वास्ता गरेको छैन । सरकार सञ्चालनमा बालेन समूहले एकलौटी गरिरहेका छन् ।

तेस्रो गुट ‘विचारधारात्मक पुनर्संरचना’ को पक्षधरका रूपमा देखिएको छ । यो समूह पार्टीको स्पष्ट वैचारिक दिशा, नीतिगत स्थिरता र राष्ट्रिय मुद्दाहरूमा स्पष्ट धारणा प्रस्तुत गर्नुपर्नेमा जोड दिन्छ । यसको नेतृत्व समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियारलगायतले गरेका छन् । उनीहरूका अनुसार केवल लोकप्रियता र नयाँपनको नाराले मात्र दीर्घकालीन राजनीति सम्भव छैन, त्यसका लागि स्पष्ट विचार र कार्यक्रम आवश्यक छ ।

पार्टीभित्र देखिएको यो त्रिकोणीय ध्रुवीकरणले निर्णय प्रक्रियामा असहजता, नेतृत्वबीच असमझदारी र कार्यकर्तामा अन्योल सिर्जना गरेको नेताहरू नै स्वीकार्छन् । केही समययता केन्द्रीय समितिका बैठकहरूमा पनि नीति, संगठन विस्तार र सरकारसँगको सम्बन्धबारे फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन् ।

अर्काे एउटा समूह छ त्यसलेचाहि पार्टीभित्र विधि, प्रक्रिया र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने पक्षमा उभिएपनि त्यसको सुनुवाई हुने अवस्था छैन । विभिन्न पार्टीबाट रास्वपामा प्रवेश गरेका उनीहरू निर्णय प्रक्रियामा पारदर्शिता, सामूहिक नेतृत्व र संगठन निर्माणमा दीर्घकालीन दृष्टिकोण अपनाउनुपर्ने बताउँदै आएका छन् । यो धारले व्यक्तिवादी शैलीभन्दा संस्थागत संरचनालाई बलियो बनाउनुपर्ने माग राख्दै आएको छ ।

भविष्यमा रास्वपाको आन्तरिक राजनीति कुन दिशामा मोडिन्छ भन्ने विषयले आगामी दिनमा नेपाली राजनीतिमा यसको प्रभाव कस्तो रहनेछ भन्ने प्रश्नसँग जोडिएको छ । आगामी महाधिवेशन, संगठन विस्तार र चुनावी तयारीका क्रममा यी गुटहरूबीचको शक्ति सन्तुलन कस्तो बन्छ भन्नेमा सबैको चासो छ ।

पछिल्लोपटक रास्वपा सभापति लामिछानेले सरकार फेरिएको भन्दै अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक रहेको बताएर बालेनलाई हल्का झस्काइरहेका छन् । उनले पार्टीको महत्वपूर्ण प्राथमिकता पनि सार्वजनिक सेवाको संस्कार फेर्नका लागि भएको भन्दै अब सांसद र मन्त्रीबीच निश्चित समय अन्तरालमा मन्त्रालयको सचिवसहितको मन्त्रालयगत अन्तक्र्रिया गरिने बताएर पार्टीले सरकारलाई नियन्त्रण गर्नसक्ने संकेत दिएका छन् ।

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी हैन । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ भन्दै उनले कतिपय आफ्नै सांसद र नेताको व्यवहारलाई सुधार गर्न चेतावनीसहितको निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्